काठमाडौँ, ११ पुस । धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३० दशमलव २६ विन्दुले बढेर १२१६ दशमलव २७ विन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत आज ६ दशमलव ४१ बिन्दुले बढेर २५८ दशमलव ८२ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार २ दशमलव ५५ विन्दुले बढेको छ ।
सरकारले गठन गरेको पूँजीबजार सम्बन्धी कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया शुरु भएका कारण शेयर बजारमा समेत उच्च अङ्कको वृद्धि भएको अनुमान गरिएको छ । अर्थमन्त्री डा।युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ संयोजकत्वको कार्यदल गठन गरेका थिए ।
सो कार्यदलले केही दिन पहिले मात्रै प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदन कार्यान्वयनको प्रक्रिया नेपाल राष्ट्र बैंकले अगाडि बढाएको छ ।
कार्यदलले दिएको सुझाब अनुसार केन्द्रीय बैंकले शेयर धितो ऋण मूल्यांकनको ६५ प्रतिशतसम्म दिन पाइने ब्यवस्था गरेको छ। यसअघि ५० प्रतिशतभन्दा बढि दिन पाइँदैन थियो। यसैगरी शेयर धितो ऋणलाई निरुत्साहित गर्नका लिग राखिएको रिक्स वेटेजको ब्यवस्थालाई परिमार्जन गरी उत्पादनमूलक सरह राख्ने ब्यवस्था गरिएको छ।
शेयर धितो कर्जामा १५० प्रतिशत रिक्स वेटेज राख्नु पर्दथियो। अब भने उत्पादनमूलक सरह १०० प्रतिशत राखे हुन्छ। यसैगरी बैंक तथा वित्तीय संस्थाको कोर क्यापिटलको २५ प्रतिशतसम्म मात्र शेयर धितो ऋण दिन पाइनेमा अब ४० प्रतिशतसम्म दिन पाइने ब्यवस्था गरिएको छ।
बैंकहरुलाई सहायक कम्पनी खोलेर शेयर ब्रोकरको काम गर्न दिने नीतिगत ब्यवस्थासमेत गरिएको छ। बैंकहरुको ऋणको ब्याज दर झार्ने गरी आधार दरमा कडाइ गरिएको छ। यी सबै प्याकेजले गर्दा शेयर बजारमा उछाल देखिएको हो।
प्रतिवेदन कार्यान्वय प्रक्रिया शुरु भएपछि बजारमा त्यसको सकारात्मक प्रभाव परेको बताइन्छ ।
स्टककाअनुसार आज कूल १७३ कम्पनीको १९ लाख १०३ कित्ता शेयर रु ६९ करोड २६ लाख २३ हजार ७४६ मूल्यमा खरीद बिक्री भएको छ । आज कारोवार भएका सबै उपसमूहको शेयर वृद्धि भएको छ । त्यसमा बैंकिङ १८ दशमलव ५४, व्यापार १३ दशमलव ६९, होटल ६५ दशमलव ६२, विकास बैंक २० दशमलव ६९, जलविद्युत् १९ दशमलव ३४, वित्त ८ दशमलव १२, निर्जीवन बीमा २४५ दशमलव शून्य ६, उत्पादन १९ दशमलव दुई, अन्य १५ दशमलव ८७, माइक्रोफाइनान्स ५० दशमलव २१, र जीवन बीमा ४४३ दशमलव ५ बिन्दुले उकालो लागेको छ ।