बनेपा, १४ पुस (रासस) । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सिंहदरबारको अधिकार गाउँगाउँमा आइसकेको बताएका छन्।
‘संविधान र कानुन बमोजिम सिंहदबारको अधिकार गाउँमा आइसकेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘अब त्यसलाई व्यवहारमा उतार्न हामी अगाडि बढिरहेका छौं।’
शुक्रबार काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–२स्थित खाँडादेवी माध्यमिक प्राविधिक धार बाली विज्ञान विद्यालयको स्वर्ण महोत्सवमा उनले हजारौंको बलिदानीपछि मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र आउनाका साथै स्थानीय, प्रदेश र संघीय सरकार बनेको बताए।
स्थानीय तहले पनि सेवासम्बन्धी ऐन बनाएर कर्मचारी भर्ती गर्ने अधिकार पाउने उल्लेख उल्लेख गर्दै उनले राष्ट्रसेवक कर्मचारीले देशको कुनै पनि भागमा सरकारले खटाएअनुसार जानुपर्नेमा जोड दिए।
‘खटाएअनुसार जान तयार नहुने कर्मचारीलाई राज्यले बिदा गर्नुपर्छ र नयाँ कर्मचारी भर्ती गरेर भए पनि संविधान कार्यान्वयन गर्नेतिर लाग्नुपर्छ’, अध्यक्ष प्रचण्डले भने, ‘अहिले ऐनहरू बन्दैछन् र कर्मचारीलाई स्थानीय तह, प्रदेश र संघ सबैतिर समायोजन गर्ने नयाँ प्रक्रिया सुरूआत हुँदैछ।’
उनले आम नागरिकलाई नयाँ व्यवस्थाको कार्यान्वयनमा आ–आफ्ना ठाउँबाट योगदान पुर्याउन आग्रहसमेत गरे। लाखौं नेपालीको त्याग, मेहेनत र समर्पणबाट ल्याएको व्यवस्था भएकाले त्यसलाई व्यवस्थित गर्न सरकार लागिपरेको अध्यक्ष प्रचण्डले बताए।
यसैबीच नेकपाको ११ दिनदेखि चलेको स्थायी समितिको बैठकले तल्लो निकायसम्म छिटो पार्टी एकता हुनुपर्ने र सरकारको काम छिटो भइदिए हुन्थ्यो भन्ने जनताको आवाज र चाहनालाई पूरा गर्न बैठकले ठोस निर्णय गरेको गरिसकेकाले त्यसका लागि पुस महिनाभित्र देशैभरि तलैसम्म पार्टी र जनसंगठनको एकता गरिसक्ने निर्णय पनि भइसकेको उनले बताए।
पाँचसय पैसठ्ठी विद्यार्थी अध्ययन गरिरहेको सो विद्यालय भूकम्पले भवन क्षति पुर्याएकाले त्यसको पुनर्निर्माण भारतीय दूतावासले गर्ने जनाए पनि अहिलेसम्म कुनै सुरसार गरिएको छैन।