दमौली(तनहुँ), २० पुस। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले वाइड बडी खरिद प्रकरणमा भएको भ्रष्टाचार लुकाउनका लागि सरकारले न्यायिक छानवीन समितिको नौटंगी सुरु गरेको बताउनुभएको छ ।
तनहुँमा शुक्रबार आयोजित कार्यक्रममा पौडेलले संसदका दुईवटा समितिले छानबिन गरिरहेको अवस्थामा सरकारले नयाँ समिति बनाएर ढाकछोप गर्न लागेको आरोप लगाउनुभयो।
प्रधानमन्त्रीले संसदीय सर्वोच्चता भएको मुलुकमा संसदबाट छानवीन भैरहेको विषयलाई प्रभावित पार्न न्यायिक समिति बनाएको आरोप पनि लगाउनुभयो ।
उहाँले सरकारले संसदीय व्यवस्थाको गरिमा र मर्यादामा आँच आउने ढंगले काम गरेको बताउदै लेखा समिति र सो अन्तर्गतको उपसमितिको अपमान गरेको समेत पौडेलले आरोप लगाउनुभयो।
उहाँले राजनीतिमा नेताहरू तीनतिर भए पनि ठुला–ठुला काण्डमा सँगै हुनेमा आफ्नो आशंका रहेको पनि बताउनुभयो ।


















