Prakash Adhikari January 6, 2019

 

तमिलनाडु(भारत),२२ पुस(बीबीसी) ।गत सेप्टेम्बरमा भारतको सर्वोच्च अदालतले सबरीमाला मन्दिरमा महिनावारी हुने उमेरका महिलाहरूको प्रवेश र प्रार्थना गर्ने अधिकार विभेदकारी भएको बताएको थियो।

मन्दिर प्रवेशमा रोक लगाउने प्रदर्शनकारीहरूको भिडलाई चुनौती दिँदै एउटा प्रसिद्ध हिन्दु मन्दिर प्रवेश गरेका दुई महिलाहरूले आफ्नो निर्णयबाट क्रोधित मानिसहरूको भिडसँग कुनै डर नभएको बताएका छन्।

विरोध प्रदर्शनकाबीच ३९ वर्षीया कनका दुर्गा र ४० वर्षीया बिन्दु अम्मिनीले बुधवार भारतको दक्षिणी राज्य केरलास्थित सबरीमाला मन्दिरमा प्रवेश गरि इतिहास रचेका छन्।

बीबीसीसँग कुरा गर्दै उनीहरूले महिला अधिकार कायम गर्नका लागि सो कदम आवश्यक रहेको बताए।

गत सेप्टेम्बरमा भारतको सर्वोच्च अदालतले सबरीमाला मन्दिरमा महिनावारी हुने उमेरका महिलाहरूको प्रवेश र प्रार्थना गर्ने अधिकार विभेदकारी भएको बताएको थियो।

अदालतले १० देखि ५० वर्षसम्मको उमेरका महिलाहरूलाई सबरीमाला मन्दिर प्रवेशमा लगाइएको प्रतिबन्ध उल्ट्याइदिएको थियो।

‘अशुद्ध’
हिन्दु धर्ममा महिनावारी भएका महिलाहरूलाई अशुद्ध मानिन्छ र उनीहरूलाई मन्दिर प्रवेशलगायत अन्य धार्मिक कृयाकलापमा सहभागी गराइँदैन। तर अधिकांश मन्दिरहरूमा त्यसबाहेकको समयमा महिलाहरूले सहज प्रवेश पाउँछन्।

केही प्रदर्शनकारीहरूले अदालतको फैसला सबरीमालामा पुजिँदै आएको इश्वर आयाप्पाको इच्छा विपरीत भएको भनी तर्क गरेका छन्।

लामो समयको प्रतिबन्धपछि अम्मिनी र दुर्गाले सादा पोशाकमा रहेका प्रहरीहरूका साथ बुधबार राति सफलतापूर्वक मन्दिर प्रवेश गरेका हुन्।

उनीहरूको मन्दिर प्रवेशपछि हजारौँको प्रदर्शनले केरला राज्य ठप्प भएजस्तै भयो।

भारतको सत्तारुढ भारतीय जनता पार्टीद्वारा समर्थित दक्षिणपन्थी समूहहरूले केरला राज्य बन्दको माग गरेपछि व्यापार व्यवसाय र सवारी आवागमन ठप्प भएको थियो।

केरला राज्यभरबाट सयौँ मानिसहरू पक्राउ गरिएका छन् भने झडपका क्रममा कम्तिमा एक जनाको ज्यान गएको छ।

‘म मारिन सक्छु’
शुक्रवार एउटा गोप्य स्थानबाट बीबीसी हिन्दीका इमरान कुरेसीसँग कुरा गर्दै कानुन विषयकी शिक्षिका अम्मिनीले भारतको संवैधानिक सिद्धान्त र नैतिकता कायम गर्न आफूले सबरीमाला जानै पर्छ भन्ने महसुस गरेको बताइन्।

“हाम्रो समाजमा लैङ्गिक न्याय एउटा महत्त्वपूर्ण मुद्धा हो जसको हामी सामना गरिरहेका छौँ। र सर्वोच्च अदालतको निर्णय कार्यान्वयनले समाजमा लैङ्गिक न्याय कार्यान्वयनमा सहयोग पुग्नेछ”, मन्दिर प्रवेशबारे उनले भनिन्।

हाम्रो समाजमा लैङ्गिक न्याय एउटा महत्त्वपूर्ण मुद्धा हो जसको हामी सामना गरिरहेका छौँ। र सर्वोच्च अदालतको निर्णय कार्यान्वयनले समाजमा लैङ्गिक न्याय कार्यान्वयनमा सहयोग पुग्नेछ
बिन्दु अम्मिनी
“म मारिन सक्छु”, प्रदर्शनको प्रतिकृया दिँदै उनले भनिन्। तर अम्मिनीले सम्हालिँदै भनिन् क्रोधित जमातको “मलाई कुनै डर थिएन”।

अम्मिनीको कुरासँग सहमत हुँदै दुर्गाले पनि भनिन् ” म डराएकी छैन। महिलाहरूले कुनै कुरामा प्रगति गरेको बेला समाजमा खैलाबैला मच्चाउँछ।”

दुर्गाले आफू एक जना श्रद्धालु भक्त भएको र उनले सबरीमालामा प्रार्थना गर्न चाहेको बताइन्।

प्रथाहरू ‘बदल्नु पर्छ’
सबरीमालामा वर्षेनी करोडौँ मानिसहरू दर्शन गर्न वा घुम्न आउने गर्छन्।

“म इश्वरको भक्त हुँ। तैपनि पहिल्यैदेखि चल्दै आएका प्रथामा केही परिवर्तन हुनुपर्छ भन्ने लाग्छ,” उनले भनिन्।

उनको विचार र मुख्य न्यायाधीश दिपक मिश्रको अभिव्यक्ति मिल्दोजुल्दो छ। गत सेप्टेम्बरमा निर्णय गर्दै उनले धर्म “सम्मान र पहिचान”को लागि बनाइएको भन्दै महिलाहरूले पनि त्यसको अभ्यासका लागि समान अधिकार पाउनु पर्ने बताएका थिए।

प्रदर्शनका बावजुद दुर्गाले अर्को वर्ष फेरि सो मन्दिरमा आउने बताएकी छन्।

सबरीमाला

राजनीतिक टकराव

भारतमा सो विषय निकै विवादित हुन पुगेको छ। र त्यसले आगामी मे मा हुन लागेको आम चुनावमा समेत प्रभाव पार्ने ठानिएको छ।

केरला राज्यका मुख्य मन्त्री पिनारायी विजायानले अदालतको निर्णयको समर्थन गर्ने जनाएका छन। उनले मन्दिर प्रवेश गर्न चाहने महिलाहरूलाई सुरक्षा व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

आलोचकहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि धार्मिक रुपमा विभाजनकारी एजेन्डाको पछि लागेको भनी आरोप लगाएका छन्।

अम्मिनी र दुर्गाले मन्दिर प्रवेश गर्नु एक दिन अघि, महिलाहरूको अधिकारको समर्थनमा ६२० किलोमिटर लामो मानव साङ्गलो को आयोजना गरिएको थियो।

त्यसको दुईदिनपछि शुक्रवार केरलामा केही प्रदर्शनहरू भएको खबर आएका छन्।

समग्रमा केरला राज्य र विशेषगरि सबरीमाला मन्दिर वरीपरी अवस्था शान्त रहेको त्यहाँका प्रहरी अधिकारीहरूले बताएका छन्।

Share Now

Leave a comment.