Prakash Adhikari January 24, 2019

क्वाललम्पुर(मलेशिया),१० माघ(बीबीसी) । मलेशियामा राजाले गद्दी परित्याग गरेपछि त्यहाँको राजसभा मजलिस राजा-राजाले पहाङका सुल्तान अब्दुल्लाहलाई मतदानबाट नयाँ राजा छानेको छ।

दुई वर्षअघि पाँच वर्षका लागि राजा छानिएका सुल्लान मोहम्मद पञ्चमले केही हप्ताअघि अचानक पदत्याग गरेका थिए। मलेशियाको इतिहासमा आफ्नो कार्यकल पूरा नगर्ने उनी पहिलो राजा हुन्।

मलेशियामा संवैधानिक राजतन्त्र छ। तर राजाहरू दैनिक प्रशासनकमा संलग्न हुँदैनन्।

नयाँ राजाले जेनुअरी ३१ मा राज्यारोहण गर्ने अपेक्षा गरिएको छ। उनले जेनुअरी १५ मा पहाङ राज्यको सुल्तानको पदभार ग्रहण गरेका थिए।

सुल्लान मोहम्मद पञ्चम गत नोभेम्बर महिनादेखि बिरामी बिदामा बसेका थिए।

त्यही महिना उनले भूतपूर्व मिस मस्कोसँग रुसको राजधानीमा विवाह गरेको देखाउने तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भए।

Royal wedding: Oksana Voevodina, 25, married Malaysia's Muhammad V of Kelantan, 49, in a lavish royal wedding ceremony in the Russian capital in November

तर उनले पदत्याग गर्नुको कारण सार्वजनिक गरिएको छैन। राज्यारोहण गर्दा उनी ४७ वर्षका थिए।

उनले पदत्याग गरेपछि मलेशियाको राजतन्त्रबारे चर्चा भएको छ। त्यहाँ अरू ठाउँमा भन्दा पृथक् चक्रीय प्रणालीबाट राजा छानिन्छ।

मलेशियामा कस्तो राजतन्त्र छ?
मलेशियामा राजालाई ‘याङ् दि-पर्तुआन् आगोङ्’ भनिन्छ।

सन् १९५७ मा ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएपछि त्यहाँ राजा छान्न थालिएको हो।

सुल्तान मोहम्मद पञ्चम
सुल्तान मोहम्मद पञ्चम दुई वर्षअघि राजा बनेका थिए

मलेशियामा १३ वटा राज्य छन्। तीमध्ये नौवटामा परम्परागत शासकहरू अर्थात् सुल्तान छन्।

नौ सुल्तानहरूमध्ये एक जनालाई ‘मजलिस राजा-राजा’ भनिने राजसभाबाट चक्रीय आधारमा निर्वाचन गरिन्छ।

राजसभामा नौ राज्यका सुल्तान र बाँकी चार राज्यका गर्भनर हुन्छन्।

तर नयाँ याङ् दि-पर्तुआन् आगोङ् छान्न सुल्तानहरूले मात्रै मतदान गर्न पाउँछन्।

नयाँ राजा कसरी छानिन्छ?

सन् १९५७ मा नौ सुल्तानहरूको आदेशमा याङ् दि-पर्तुआन् आगोङ्‌को कार्यालयमा स्थापना भयो। त्यही आदेशानुसार नयाँ राजा छान्न राजसभाको बैठक बस्छ।

प्राय: पालो कुरेर बसेका अर्को राज्यका सुल्तानलाई चक्रीय प्रणाली अनुसरण गर्दै राजा छानिन्छ।

अहिले राजा हुने पालो पहाङ राज्यका सुल्तानको थियो।

जेनुअरी १५ मा मात्रै पदभार ग्रहण गरेका हुनाले राजा निर्वाचित हुन उनले पर्याप्त मत नपाउलान् कि भन्ने संशय भएको यसअघि एक कानुनविद्लाई उद्धृत गर्दै सरकारी समाचारसंस्था बर्नामाले जनाएको थियो।

राजा छान्न सबै सुल्तानहरूलाई राजा हुने पालो भएको राज्यका सुल्तानको नाम लेखिएको मतपत्र दिइन्छ। अनि उनीहरूले नै गोप्य मतदानबाट ती सुल्तान राजा हुन उपयुक्त छैन कि छैनन् भनेर निर्णय गर्छन्।

राजा निर्वाचित हुन नौमध्ये पाँच मत आउनुपर्छ। बहुमत पुगेन भने त्यसपछि पालो भएको राज्यका सुल्तानको नाममा यही प्रक्रियाबाट मतदान गरिन्छ।

गोप्यता कायम राख्न मतपत्रमा कुनै सङ्ख्या उल्लेख गरिएको हुँदैन र सबैलाई उही मसी भएको कलम दिइएको हुन्छ।

राजासँग के अधिकार हुन्छ?

मलेशियामा संसद्‌ र प्रधानमन्त्री शक्तिशाली हुन्छन्। राजतन्त्र भने आलङ्कारिक छ।

त्यहाँको प्रशासनमा राजाको कुनै भूमिका हुँदैन। तर प्रधानमन्त्रीलगायत महत्त्वपूर्ण पदमा हुने नियुक्ति राजाबाट हुन्छ।

राजा मलेशियामा इस्लामधर्मका प्रमुख र सशस्त्र सुरक्षा निकायहरूका पदेन प्रमुख हुन्छन्।

मलेशियाको राजदरबार
राजासँग अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि हुन्छ।

राजा सुल्तान मोहम्मद पञ्चमले त्यही अधिकार प्रयोग गरेर भूतपूर्व विपक्षी नेता अन्वर इब्राहिमलाई क्षमादान दिएका थिए। गत वर्ष भएको निर्वाचनमा अन्वरको दल सम्मिलित गठबन्धन विजयी भएको थियो।

उनलाई अप्राकृतिक यौनसम्बन्ध र उत्पीडनको आरोपमा दोषी ठहर्‍याइएको थियो। तर धेरैले उनीविरुद्धको मुद्दा राजनीतिक रूपमा अभिप्रेरित भएको मानेका थिए।

मलेशियामा राजाको भूमिकालाई सम्मानित मानिन्छ। बहुसङ्ख्यक मुसलमानहरूले राजाले मलेशिया र इस्लाम धर्मको परम्परालाई एकताबद्ध राखेको विश्वास गर्छन्।

राजाको मानहानि हुनेगरी आलोचना गरे जेल सजाय पनि हुन सक्छ

Share Now

Leave a comment.