मुम्बई(भारत),२७ माघ (एजेन्सी)। बलिउड अभिनेता विक्की कौशलको फिल्म ‘उरी : द सर्जिकल स्ट्राइक’ आफ्नो रिलिजको पहिलो दिनदेखि नै बक्सअफिसमा छाइरहेको छ । यस फिल्मबाट एकातिर विक्कीको चौतर्फी तारिफ भइरहेको छ भने अर्कोतिर फिल्मको जोश अझैसम्म बक्सअफिसमा कायम छ । यो सत्य घटनामा आधारित फिल्म हो ।
फिल्मले अहिलेसम्म बक्सअफिसमा जबरजस्त कमाई गरिरहेको छ । फिल्म समीक्षक तरण आदर्शका अनुसार, यस फिल्मले बक्सअफिसमा दुई सय करोडको आँकडा पार गरेको छ । ४५ करोडमा बनेको फिल्मले प्रदर्शनको २८ दिनमा दुई सय करोडमाथि कमाउन सफल भएको हो ।
आदित्य धर निर्देशित यस फिल्ममा यामी गौतम, मोहित रैना, कीर्ति कुल्हाड, परेश रावललगायतको पनि अभिनय छ । साल २०१६ मा भारतीय सेना द्वारा पाकिस्तानमा पसेर आतंककारीमाथि गरेको सर्जिकल स्ट्राइकको घटनामा फिल्म आधारित छ ।
उक्त हमलामा १९ भारतीय सेना शहिद भएका थिए । यो घटनाको करीब एक सातापछि भारतीय सेनाले नियन्त्रण रेखामा गएर सर्जिकल स्ट्राइक गरेको थियो, जसमा सम्पूर्ण आतंककारी मारिएका थिए । कयौं क्याम्प ध्वस्त भएको थियो । ‘उरी’ मा यही कहानी देखाइएको छ ।