Prakash Adhikari February 20, 2019

काठमाडौं, ८ फागुन । आज सरकारी अस्पतालको काम कारबाही सुचारु होला कि नहोला ? देशभरका सरकारी अस्पतालमा अन्यौल छ । सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकको विरोधमा सरकारी चिकित्सकहरूले आज बुधबार सामूहिक विदामा बस्ने निर्णय गरेका छन् ।

समायोजन विधेयकले आफूहरुले उठाउदै आएको माग सम्बोधन नगरेको भन्दै सरकारी चिकित्सक संघ, नेपाल (गोदान)को आह्वानमा बुधबार सामूहिक विदामा बस्न लागेका हुन्। देशभरका चिकित्सकहरूले विधेयक सच्याउन सरकारलाई दबाब दिँदै अल्टिमेटम सहित एक हप्ते आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । उनीहरूले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विधेयक सच्याउन सरकारलाई बाध्य पार्न दबाबमूलक कार्यक्रम घोषणा गरेका थिए ।

आन्दोलनरत सरकारी चिकित्सकहरूले मंगलबार माइतीघर मण्डलामा रक्तदान कार्यक्रम गरेका थिए। घोषित कार्यक्रमअनुसार राजीनामाका लागि संकलित हस्ताक्षर सरकारलाई बुझाउन उनीहरू शुक्रबार काठमाडौंमा भेला हुनेछन्। यति गर्दा पनि आफूहरुको माग सरकारले सम्बोधन नगरे सबै अस्पतालको सेवा बहिस्कार गरी ‘अवज्ञा आन्दोलन’ सुरु गर्ने उनीहरूको चेतावनी छ ।

Share Now

Leave a comment.