काठमाडौं,९फागुन । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले नेपाली कांग्रेसका पूर्व महामन्त्री, २००७ सालदेखि २०४६ सालसम्मका लोकतान्त्रिक आन्दोलनका अथक योद्धा महेन्द्रनारायण निधि तथा उहाँकी धर्मपत्नी प्रेमसागरीदेवी निधिको नाममा स्थापित पुरस्कारको विजेताको घोषणा गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालद्धारा आज प्रकाशित प्रेस विज्ञप्तिमा जनाइए अनुसार प्रतिष्ठानले दुवै पुरस्कारका लागि २०७४ र २०७५ का विजेताको नाम घोषणा गरेको हो ।
प्रतिष्ठानले महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७४बाट शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी र डा.गौरीशंकर लाल दासलाई पुरस्कृत गरिएको छ भने प्रेमसागरी देवी निधि पुरस्कार २०७४बाट भोजपुर निवासी लक्ष्मी राईलाई पुरस्कृत गरिएको छ ।
त्यसै गरि प्रतिष्ठानले प्रतिष्ठानले महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७५बाट काठमाडौं निवासी तीर्थराम डंगोल र सप्तरी निवासी रामनारायण देवलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
२०७५ सालको प्रेमसागरीदेवी निधि पुरस्कारबाट पर्सा निवासी शान्ति कार्की र जाजरको निवासी मैना कार्की सम्मानित हुनुभएको छ ।
पूर्व सचिव डा. विमल कोइरालाको संयोजकत्वमा प्रा. डा. कुमार कोइराला, डा. नवेन्द्र निधि र दुर्गा घिमिरे रहेको चार सदस्यीय समितिले पुरस्कृत हुने व्यक्तित्वहरुको चयन गरेको पनि अध्यक्ष दाहालले प्रेस विज्ञप्तिमा जनाउनुभएको छ ।
प्रतिष्ठानले गान्धीवादी आन्दोलनका अनुयायी महेन्द्रनारायण निधिको ९७ औं जन्मजयन्तीको अवसरमा यही फागुन १३ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा पुरस्कार प्रदान गरिने र सो कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगानाले विशेष अतिथिको रुपमा मन्तव्य दिनुहुने जनाएको छ ।


















