खलंगा(दार्चुला), १८ फागुन । दार्चुलाको सातकाठा भन्ने स्थान जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ । सदरमुकाम खलङ्गाबाट हिकिला गइरहेको म१ज २८० नम्बरको जीप महाकाली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार दुर्घटनामा ७ महिला, ३ पुरुष, १ नाबालिकाको मृत्यु भएको छ ।
जीप चालक दीपकसिंह धामी घाइते भएका छन् । घाइतेलाई गाडीमार्फत अस्पताल पठाइएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए ।उनको अवस्था गम्भीर छ । उनलाई जिल्लामा उपचार हुन नसकेपछि भारतको पिथौरागढ रिफर गरिएको छ ।
राति ८ बजे जीप दुर्घटना भएको स्थानीयवासी हिक्मतबहादुर वमले बताए । चार दिनअघि सोही क्षेत्रमा पहिरोमा परी एक जनाको ज्यान गएको थियो । पहिरो गएको क्षेत्रबाटै जीप दुर्घटना भएको हो । जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको छ ।
घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ । राति भएकाले उद्धारमा समस्या भएको स्थानीयवासी वमले बताए । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीयवासी खटिएका छन् । (रासस)