Prakash Adhikari March 5, 2019

 

सुखानी(झापा), २१ फागुन (बीबीसी) । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हिंसात्मक गतिविधि नसच्याए सरकारले नियन्त्रण गर्ने चेतावनी दिएका छन्।

मङ्गलवार इलाम र झापाको सिमाना सुखानीमा आयोजित स्मृति सभामा बोल्दै उनले हिंसात्मक गतिविधि गर्नेलाई वामपन्थीकै सरकार भए पनि नछोडिने बताए।

विस्फोट गराएर मान्छे मार्ने गतिविधि गर्नेलाई राजनीतिक दल भन्न नमिल्ने उनले टिप्पणी गरे।

आक्रामक शैलीमा ओलीले भने, “कम्युनिस्ट पार्टीको नाम लिएर लुटमार गर्ने काम बन्द गर्नूस्। होइन भने जनताको सरकार छ, शान्ति सुव्यवस्था र अमनचयन कायम गर्नका लागि नियन्त्रण गर्नुपर्ने हुन्छ।”

‘छुट दिइँदैन’
हिंसात्मक गतिविधि गर्ने वामपन्थी नै भए पनि वामपन्थी सरकारले नछोड्ने सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका ओलीको भनाइ थियो।

लुकेर चन्दा उठाउन तथा लुटमार गर्ने काम बन्द गर्न उक्त पार्टीलाई उनले चेतावनी दिए।

महिला

त्यस्ता काम गर्नेलाई वामपन्थी भन्न नसकिने बताउँदै ओलीले भने, “केही विस्फोट गराएर, केही मान्छे मारेर, चन्दा उठाउने धन्दा गर्छ भने त्यसलाई पार्टी भनिँदैन। त्यसलाई छुट दिन सकिँदैन।”

यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि उक्त पार्टीलाई सच्चिन चेतावनी दिएका थिए।

सम्बोधन

विराटनगरमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले राजनीतिक रूपमा उक्त पार्टी सहमतिमा नआए प्रशासनिक रूपमा सम्बोधन गरिने बताए।

तत्कालीन माओवादीका हराएका हतियार चन्द नेतृत्वको पार्टीसँग छन् कि भन्ने जिज्ञासामा प्रचण्डले त्यसको जिम्मा आफूहरूले लिन नसक्ने पनि बताएका थिए।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण हुनुअघि दुईवटै पार्टीले छुट्टाछुट्टै श्रद्धाञ्जलि कार्यक्रम गर्ने गरिएको सुखानीमा मङ्गलवार प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै उपस्थित थिए।

वामपन्थीहरुले प्रत्येक वर्ष फागुन २१ सुखानीमा २०२९ सालमा त्यही मारिएकाहरूको सम्झनामा स्मृतिसभा गर्दै आएका छन्।

Share Now

Leave a comment.