Prakash Adhikari March 6, 2019

 

आबुधावी(संयुक्त अरब इमिरेट्स), २१ फागुन । पाकिस्तान सुपर लिग अन्तरगत मंगलबार भएको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने दुई ओभरमा विकेटबिहिन बनेपछि उनी आबद्ध लाहोर क्वालन्दर्सलाई पेशावर जल्मीले ४ विकेटले पराजित गरेको छ।

अबुधावी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको लाहोरले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १ सय २३ रन जोडेको थियो ।

लाहोरले दिएको १ सय २५ रनको लक्ष्य पेशावरले अन्तिम ओभरमा १ बल बाँकी रहंदा ६ विकेट गुमाएर पूरा गर्यो। उसका मिस्बाह उल् हक ५९ रनमा अविजित रहे।

जम्मा २० रन जोड्दा ५ विकेट गुमाउन पुगेको पेशावर जाल्मीलाई त्यसपछि ब्याटिड. गर्न आएका ड्यारन स्यामी र मिस्बाह उल् हकले छैठौं विकेटको लागि १०० रनको साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्याए। खेलको अन्तिम ओभरमा रायन टेन डस्काटेको बलमा बोल्ड हुन अघि स्यामीले ३६ बलमा ४६ रन जोड्न सफल भए। त्यसक्रममा उनको ब्याटबाट ४ चौका र १ छक्का प्रहार गरे।

यस्तै अर्को किनारमा अविजित रहेका मिस्बाहले भने ५५ बलमा ५९ रनको इनिंग खेले। उनको इनिंगमा ४ चौका र २ छक्का सामेल रह्यो। यो अर्धशतकसंगै मिस्बाह टि-२० क्रिकेटमा सबैभन्दा धेरै उमेरमा अर्धशतक बनाउने खेलाडी समेत बने। मिस्बाहले लाहोर बिरुद्ध ४४ बर्ष २८१ दिनको उमेरमा अर्धशतक बनाएका हुन्।

लाहोरको बलिङ्गमा सहिन शाह अफ्रिदीले सर्वाधिक ३ विकेट लिए । यस्तै राहत अलि, डेभिड विजा र रायन टेनको नाममा समान १/१ विकेट रह्यो।

नेपाली क्रिकेटर सन्दीप लामिछाने मात्र २.१ ओभर बलिङ्ग गरेर २२ रन खर्चिंदा पनि विकेटबिहिन रहे।

इनिंगको आठौँ ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दिपले सुरुवात राम्रो गरेका थिए। सो ओभरमा स्यामी र मिस्बाहले सन्दिप बिरुद्ध कुनै सटको प्रयास नगर्दा सन्दिपले मात्र ३ रन खर्चिए।

लगत्तै खेलको १० औं ओभर लिएर आएका सन्दिप बिरुद्ध मिस्बाहले ओभरको पहिलो दुई बलमा लगातार छक्का प्रहार गर्दै सो ओभरमा १८ रन जोडे। आफ्नो पहिलो दुई ओभर पश्चात सन्दिपले बलिङ्ग गर्ने मौका पाएनन्।

इनिंगको अन्तिम ओभर गरेका रायन टेन डेस्काटे ओभरमा ४ बल गरेपछि घाइते हुँदा सन्दिपले ओभर सक्ने जिम्मा पाए। तर पेसावरलाई जितका लागि मात्र १ रन बाँकी रहेकाले सन्दिपले एक बल गर्दा खेलले नतिजा लियो।

लाहोरको ब्याटिंग

यस अघि टस हारेर ब्याटिंगको निम्तो पाएको लाहोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रन जोडेको थियो। उसका ह्यारिस सोहेलले सर्वाधिक ४३ तथा डेभिड विजाले २६ रनको इनिंग खेलेका थिए।

पेशावरको बलिङ्गतर्फ टिमाल मिल्सले सर्वाधिक ३ विकेट हात पारे। यस्तै समिन गुलले २ र लियम डसन र वहाव रियाजले समान १(१ विकेट हात पारेका थिए।

पाकिस्तान सुपर लिग अन्तरगतका अबका खेलहरु पाकिस्तानी शहर कराँचीमा हुनेछन् । कराँचीमा सन्दीपको लाहोरले ९ मार्चमा इस्लामाबाद युनाईटेड र ११ मार्चमा मुल्तान सुल्तानविरुद्ध खेल्ने छ ।

छ टोली सम्मिलित पाकिस्तान सुपर लिगमा सन्दीप आबद्ध लाहोर क्वालान्दर्स ६ अंकसहित पाचौं स्थानमा रहेको छ । क्वेटा ग्लागियटर्स १४ अंक सहित शीर्षमा रहेको छ भने पेशावर जाल्मी १२ अंकसहित दोस्रो स्थानमा छ । समान ८ अंक भएपनि रनरेटका आधारमा इस्लामावाद युनाटेड तेस्रो र कराँची किंग्स चौथो स्थानमा छन् । मुल्तान सुल्तान अंक तालिकाको अन्तिममा रहेको छ ।

Pakistan Super League

TEAM M W L T P NRR
QG 9 7 2 0 14 0.423
PZ 9 6 3 0 12 0.566
IU 9 4 5 0 8 -0.139
KK 8 4 4 0 8 -0.459
LQ 8 3 5 0 6 -0.304
MS 9 2 7 0 4 -0.145
Share Now

Leave a comment.