काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको दोस्रो तलाको कोरोनेटिभ केयर युनिट(सीसीयु)मा भर्ना गरिएको छ ।
प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा. अरुण सायामीले बताएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको तर विशेष रेखेदेख र अस्पतालमा भेट्न आउनेको घुइँचो लाग्ने नदिन सिसियुमा राखिएको बताउनुभएको छ।
बुधबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुग्नुभएका प्रधानमन्त्री चिकित्सकहरूको सुझावअनुसार अस्पतालमा भर्ना हुनुभएको हो ।
पछिल्ला केही घटनाले स्वास्थ्य सिथिल बनेको भन्दै चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई अस्पतालमा भर्ना भएर आराम गर्ने सुझाएका थिए।
डा.. सायमीले प्रधानमन्त्री ओलीको मृगौला, मुटुलगायतको परीक्षण गरिएको र त्यसको रिपोर्ट बिहिबारसम्म आउने बताउदै प्रधानमन्त्रीले केही समय यता अधिक दौडधुप गर्नुका साथै हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्री रवीन्द्र अधिकारी र आफ्ना अनन्य मित्र आड.छिरिड. शेर्पालाई गुमाउदा परेको पीडा र पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहनको निधनले तनावको अवस्थामा रहेकोले भर्ना गरेर स्वास्थ्योपचार थालिएका बताउनुभयो ।
मृगौला फेरिएका बिरामीको रेगुलर चेकअप गर्नुपर्ने बताउदै डा. सायमीले प्रधानमन्त्रीले बाहिर गएर गर्नुपर्ने सम्पूर्ण चेकअप यहिँ गरिएको बताउनुभयो ।
उहाँले रिपोर्ट आएपछि बिहीबार नै प्रधानमन्त्री डिस्चार्ज हुन सक्ने बताउनुभयो।
गत कात्तिकमा पनि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सोही अस्पतालमा भर्ना गरि पाँच दिनको उपचारपछि उनको डिस्चार्ज गरिएको थियो।