Prakash Adhikari March 15, 2019

क्राइस्टचर्च(न्यूजिल्यान्ड),१ चैत्र (बीबीसी) । न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको र २० जनाभन्दा धेरै गम्भीररूपमा घाइते भएको प्रधानमन्त्री जेसिन्डा आर्डर्नले बताएकी छन्।

आर्डर्नले शुक्रवारलाई ‘कालो दिन’ भएको बताउँदै यो घटनालाई ‘आतङ्ककारी हमला’ मात्रै भन्न सकिने बताइन्।

 

प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन्।

https://youtu.be/73YolyHqa9o

सरकारले मानिसहरूलाई अर्को सूचना नआएसम्म मस्जिदमा नजान भनेको छ ।

गिरफ्तारी

प्रहरी प्रमुख माइक बुशले एक महिलासहित चार जनालाई हिरासतमा लिइएको बताए पनि अरू व्यक्ति संलग्न भए वा नभएको स्पष्ट नभएको बताएका छन्।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले गिरफ्तार एक जना अस्ट्रेलियन नागरिक भएको र उ ‘अतिवादी दक्षिणपन्थी घातक आतङ्ककारी’ भएको बताएका छन्।

तर प्रहरीले आफूले रोकेका केही गाडीहरूमा विस्फोटक पदार्थ भेटिएको बताएको छ।

स्थिति अझै अस्पष्ट

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री आर्डर्नले अहिलेसम्म स्थिति स्पष्ट नभएको बताएकी छन्।

उनले भनिन्, “अहिले मैले भन्न सक्ने भनेको आजको दिन न्यूजिल्यान्डको कालो दिनमध्ये एक हुनेछ।”

अल नूर मस्जिदमा रहेका मोहन इब्राहिमले स्थानीन समाचारपत्रलाई भने,”पहिले त बिजुलीको झट्का होला भन्ठानेका थियौँ। तर त्यसपछि सबै मानिसहरू भाग्न थाले।”

“मेरा केही साथीहरू अझै भित्रै छन्। मैले साथीहरूलाई फोन गर्ने प्रयास गरेँ।, तर धेरैसँग सम्पर्क भएको छैन। मलाई साथीहरूको पीर लागेको छ।”

न्यूजिल्यान्डमा मस्जिदमा आक्रमण
घटनामा कति आक्रमणकारी थिए भन्ने कुरा स्पष्ट भइसकेको छैन। तर न्यूजिल्यान्ड हेराल्ड पत्रिकाका अनुसार एक बन्दुकधारी अस्ट्रेलियाका नागरिक हुन् जसले आप्रवासीहरूविरुद्ध लेखेका छन्।

आक्रमणकारीले भिडिओ खिच्दै मानिस मारेको भनि एउटा भिडिओ सार्वजनिक भएको छ।

बाङ्ग्लादेशी क्रिकेट टोली जोगियो

बाङ्ग्लादेशी टेस्ट क्रिकेट टोलीका कप्तानले आफू सो आक्रमणबाट जोगिएको भन्दै ट्वीट गरेका छन्।

आक्रमण हुँदा बाङ्ग्लादेशी टोलीका सदस्यहरू अल नूर मस्जिदमा थिए।

बाङ्ग्लादेशी क्रिकेट बोर्डले टोलीका सबै जना सुरक्षित रूपमा होटल फर्किसकेका र आफ्नो सम्पर्कमा रहेका जनाएको छ।

सो घटनाप्रति सामाजिक सञ्जालमा धेरैले दु:ख व्यक्त गरेका छन्।

‘मुस्लिम्ज इन न्यूजिल्यान्ड’को फेसबुक पेजमा समवेदनाको ओइरो लागेको छ।

Share Now

Leave a comment.