Prakash Adhikari March 15, 2019

काठमाडौं, १ चैत्र । नेपाली पात्रोको अन्तिम महिनाको पहिलो दिनका साथै पहिलो शुक्रवार नेपालमा तुलनात्मक रुपमा ठूलो लगानीमा बनेका तीन फिल्म एकसाथ प्रदर्शनमा आएका छन् ।

पुरानो बुलेट, जानी नजानी र द म्यान फ्रम काठमाडौं दर्शक तानेर पैसा कमाउन प्रदर्शनमा उत्रिएका छन् ।

‘द म्यान फ्रम काठमाडौं’ लाई पहिलो नेपाली हलिउड फिल्म भनिएको छ । सम्भवतः नेपाली फिल्मको इतिहासमा उच्च लगानीमा बनेको फिल्म यो हो ।

यसको लगानी ५ करोडमाथि रहेको निर्माता नकिम उद्यिमले बताएका छन् । यो फिल्मले निर्माताको लगानी उठाउन घरेलु बजारमा १५ करोड ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ । विदेशी मार्केटलाई मध्यनजर गरेर निर्माण गरिएको यो फिल्म अंग्रेजी भाषामा खिचिएको भएता पनि नेपालमा भने नेपाली डब गरेर प्रदर्शन गरिएको छ । पेमा धोन्डुप निर्देशित फिल्ममा हलिउड, बलिउडदेखि नेपाली कलाकारसम्मको अभिनय छ ।

बलिउड अभिनेता गुलशन ग्रोवर, आना शर्मा, शिशिर बाङ्देल, अमेरिकी अभिनेता जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु कर्मा शाक्य, नीर शाह, आमिर गौतमलगायतको फिल्ममा अभिनय छ । फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । फिल्मले बिहीवार भएको प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको छ ।

भिषण राईको निर्देशनमा बनेको फिल्म ‘पुरानो बुलेट’ मा भने एक करोडको लगानी छ, जुन उठाउन फिल्मले करीब ३ करोड ग्रस कलेक्सन गर्नुपर्ने छ । फिल्ममा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडीलगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई छन् ।

यस्तै, दर्जनौं फिल्ममा सहायक निर्देशक भएर काम गरेका बसन्त अधिकारीको निर्देशनमा बनेको ुजानी नजानीु उनको पहिलो निर्देशनमा बनेको फिल्म हो । प्रस्तुतकर्ता रोशनी केसीका अनुसार, फिल्ममा २ करोडको लगानी छ ।

यसले निर्माताको लगानी सुरक्षित गर्न बक्सअफिसमा ६ करोड ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ । मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको यसमा अभिनय रहेको छ ।

शुक्रवार प्रदर्शनमा आएका तीन फिल्मको कुल निर्माण लागत ८ करोडको आसपास छ ।

फिल्मले निर्माता बचाउन सुरुको तीन हप्तामा तेब्बर कमाई गर्नुपर्दछ । यी फिल्महरुले २४ करोड ग्रस कलेक्सन सक्छन सक्दैनन् भन्न सकिने स्थिति छैन् ।

Share Now

Leave a comment.