Prakash Adhikari March 17, 2019

 

काठमाडौ, ३ चैत  ।  राष्ट्रिय जनता पार्टीले पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दे प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

संघीय संसद प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमै राष्ट्रिय जनता पार्टीका सांसदले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उभिएर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटको लागि स्थगित गरेका थिए ।

गत बुधबारको बैठकमा पनि राजपाका सांसदले मधेस आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवदेन सार्वजनिक गर्न माग गर्दे उभिएर विरोध गरेका थिए । लगत्तै सभामुखले त्यसबारे सरकारलाई रुलिङ गरेका थिए । आईतबारको बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले सरकारले संसदको निर्देशन कार्यान्वयन नगरेको भन्दै संसदको मातहतमा सरकार छ कि छैन ? भनी प्रश्न गरे ।

उनले भने, ‘यो सरकार संसदबाट बनेको हो कि होइन थाहै हुदैन । यो संसद मातहत सरकार हो कि होइन ? संसदले बनाएको सरकार हो कि होइन ? यदि संसदले बनाएको सरकार हो र सरकार संसदप्रति जिम्मेवार छ भने सभामुखले ध्यानाकर्षण गराउँदा पनि स्वयम् संसदबाट सभामुखले गरेको ध्यानाकर्षण पनि ठुलो हो । संसदको आदेश र निर्देशनलाई पनि नमान्ने ? सरकारले अहिलेसम्म पनि गिरिशचन्द्र लाल प्रतिवेदन सार्वजनिक नगरेका कारण प्रतिवेदन सार्वजनिक नभएसम्म हामी संसद चल्न दिन्नौ । हामीले संसद अवरोध गर्छौ ।’

 

Share Now

Leave a comment.