Prakash Adhikari March 17, 2019

सिंगापुर,३ चैत्र (बीबीसी) । सिङ्गापुरमा गरिएको एउटा अनुसन्धानले हप्तामा दुई चोटिभन्दा बढी च्याउ खाए त्यसले ६० वर्षमाथिका व्यक्तिमा स्मृति र भाषासँग सम्बन्धित समस्याहरू हुन नदिने देखाएको छ।

च्याउमा हुने एउटा विशेष एन्टिअक्सिडन्टले मस्तिष्कमा सुरक्षात्मक प्रभाव पार्ने सो अध्ययनले पत्ता लगाएको छ।

मानिसहरूले जति धेरै च्याउ खाए उनीहरूले सोच्ने र मानसिक प्रक्रियासम्बन्धी जाँचमा उति धेरै परिणाम प्राप्त गरे।

तर अनुसन्धानकर्ताहरूले च्याउ र मस्तिष्कको कार्यबीच कुनै सोझो सम्बन्ध प्रमाणित गर्न भने सम्भव नभएको बताएका छन्।

न्याश्नल युनिभर्सिटी अफ सिङ्गापुरमा भएको सो अध्ययनमा लागि ६६३ जना ६० वर्षमाथिका चिनियाँ मूलका मानिस समाविष्ट थिए। सन् २०११ देखि २०१७ सम्म उनीहरूको आहार र विहारको अध्ययन गरिएको थियो।

छ वर्षभन्दा बढी समय लगाएर गरिएको सो अध्ययनमा अनुसन्धानकर्ताहरूले च्याउ खाँदा कग्नटिभ इम्पेअर्मन्ट (सिक्न र तर्क गर्न सक्ने क्षमतामा क्षय) हुने सम्भावना घट्ने पत्ता लगाएका थिए।

दुई चोटिभन्दा बढी च्याउ खानेमध्ये सयमा झन्डै नौ जनामा मात्र त्यस्तो समस्या भएको देखियो। तर हप्तामा एक चोटिभन्दा कम खानेमध्ये सयमा १९ जनामा त्यो समस्या भएको देखियो।

‘उत्साहप्रद’

Woman chopping mushrooms
माइल्ड कग्नटिभ इम्पेअर्मन्ट (एमसीआई) भनिने मध्यम खालको संज्ञानात्मक क्षय हुँदा मानिसहरू बिर्सिन थाल्छन्।

यसले उनीहरूमा स्मृति एवम् भाषासम्बन्धी समस्या हुन्छ तथा उनीहरूलाई केही कुरामा ध्यान दिन वा कुनै वस्तु पत्ता लगाउन गाह्रो हुन्छ।

तर यी परिवर्तनहरू थोरै मात्रामा भएका हुन सक्छन्। ‘डिमेन्श’ अर्थात् विस्मृति भनिहाल्नेगरी यी परिवर्तनहरू गम्भीर भने हुँदैनन्।

अध्ययनमा सहभागी भएका व्यक्तिलाई उनीहरूले विभिन्न छ प्रकारका च्याउहरू – ओइस्टर, शिटाके, ह्वाइट बटन, ड्राइड, गोल्डन र टिन्ड – कति चोटि खाए भनेर सोधिएको थियो।

च्याउ खानहरूले मस्तिष्कसम्बन्धी जाँचमा राम्रो परिणाम ल्याए। उनीहरूको मानसिक प्रक्रियाको गति पनि छिटो भएको पत्ता लाग्यो।

अनि यस्तो परिणाम विशेष गरेर हप्तामा दुई चोटिभन्दा बढी अर्थात् कुल तीन सय ग्राम च्याउ खानेहरूमा पाइएको थियो।

नयाँ वर्षको सङ्कल्पमध्येको एक ‘प्रविधि आहार’ किन हुनुपर्छ?
च्याउ र ब्याक्टेरियाबाट कार्बनमुक्त ऊर्जा
“यो अन्तरसम्बन्ध आश्चर्यजनक र उत्साहप्रद रहेको छ,” सो अध्ययनको नेतृत्व गरेका सहप्राध्यापक ली फेङ भन्छन्।

“सामान्य रूपमा उपलब्ध हुने एउटा तत्त्वले सङ्ज्ञानात्मक क्षयमा नाटकीय प्रभाव पार्न सक्ने देखिन्छ।”

“तर हामी धेरै कारणहरू जस्तै चिया, हरिया सागपात, बदामजस्ता फल र माछाको मिश्रण लाभकारी हुनेबारे कुरा गर्दैछौँ।”

अनुसन्धानकर्ताहरूले च्याउ अर्गोथायोनिन नामक एन्टिअक्सिडन्ट र एन्टिइन्फ्ल्यामटरी गुण भएको तत्त्वको ठूलो स्रोत भएको इङ्गित गरेका छन्। सो तत्त्व मानिसको शरीरमा आफैँ बन्दैन।

च्याउमा भिटामिन डी, सिलिनियम र स्पर्मिडिन जस्ता महत्त्वपूर्ण पोषक तत्त्व र खनिज पदार्थ पनि हुन्छन्।

आहार र विहार

अध्ययनका लागि सहभागीहरूले आफूले कति च्याउ खाए र अरू आहार कस्तो थियो भन्ने जानकारी उपलब्ध गराएका थिए। त्यो जानकारी यथार्थ नभएको हुन पनि सक्ने अनुसन्धानकर्ताहरूले स्वीकारेका छन्।

Fresh mushrooms
अल्जाइमर्स सोसाइटीमा अनुसन्धान प्रमुख रहेका डा. जेम्स पिकेट भन्छन्, “विस्मृति हुन धेरै कारणहरू छन्। अनि झन्डै एकतिहाइ केस चाहिँ आहार र जीवनशैलीमा परिवर्तन गरेर रोक्न सकिन्छ।”

“विस्मृति मृत्युका प्रमुख १० कारकमध्ये एक हो। तर मानिसहरूले त्यो जोखिम घटाउन केही गर्न सक्छन्। त्यसैले हामीले दिने परामर्श निरन्तर रूपमा धेरै अध्ययनबाट प्राप्त प्रमाणका आधारमा हुनुपर्छ। अनि एउटा अध्ययनको परिणामबाट बहकिनु हुँदैन।”

त्यसैले आफ्नो आहारमा फलफूल, च्याउसहित सागपात समावेश गराउनु राम्रो भएको उनको धारणा छ।

हामी चिनी र नुनको मात्रा घटाउनु, शारीरिक रूपमा सक्रिय रहनु, थोरै मात्र मदिरा पिउनु र धूमपान नगर्नु उत्तम हुने उनको सल्लाह छ।

सो अध्ययन जर्नल अफ अल्जाइमर्स डिजीजमा प्रकाशित भएको छ।

Share Now

Leave a comment.