काठमाडौं, १४पौष । नेपालको पर्वतीय पर्यटनको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल पर्वतारोहण संघ(एनएमए)को २७ औं साधारण सभा शुक्रबार काठमाडौंमा हुँदैछ ।
राजधानीको होटल याक एण्ड यतिमा बिहान १० ः ०० बजे आरम्भ हुने साधारण सभाको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री के पी शर्मा ओलीले गर्नुहुने जानकारी संघका अध्यक्ष सन्तबहादुर लामाले दिनुभएको छ ।
साधारण सभामा संघको चालु आर्थिक बर्षको बार्षिक कार्यक्रम र बजेट पारित गर्नुका अतिरक्त नेपाल सरकारबाट संघलाई आरोहण अनुमति दस्तूर लिन दिइएका केही होचा हिमालहरुको अनुमति नवीकरण र संघको संघीय ढाँचाका सम्बन्धमा विशेष छलफल हुने बताएको छ ।
संघको विधानलाई समानुकूल बनाउने विषय पनि साधारण सभामा उठ्ने बताइएको छ ।
विश्वका ८ हजार मिटर माथिका १४ वटा हिमाल नेपालमा रहेको पहिचान भैसक्दा पनि बाँकी हिमाललाई अन्तराष्ट्र्यि मान्यता दिलाउने विषयलाई पनि सदस्यहरुले संघको नेतृत्वलाई घच्घच्याउने छन् ।
संघले २०७२ सालको भूकम्पपछि जोखिमपूर्ण बनेका पदयात्राहरुको मर्मत संभार, पर्वतारोहण क्षेत्रमा भएको फोहरमैला व्यवस्थापन, पर्वतारोहण क्षेत्रमा पुल पुलेसा निर्माण, पर्वतारोही कल्याण र पर्वतारोहणका क्रममा जीवन गुमाएका पर्वतारोहीका आश्रितहरुलाई जीविकोपार्जन सहित तिनका छोराछोरीको अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने जस्ता काम पनि गदैैआएको छ ।
संघ, एशिया र विश्व पर्वतारोहण संघको सदस्य रहेको छ ।