काठमाडौंं,१५ पौष । गुरुङ्ग समुदायको नयाँ बर्षको रुपमा मनाइने तमु ल्होसार आज नेपाल र विश्वभर गुरुङ्ग वस्ती भएका स्थानमा हर्षोल्लासपूवक मनाइदै छ ।
तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीे, प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सबै तमु र तमु संस्कृतिप्रति सद्भाव राख्ने नेपालीहरुलाई सुख,शान्ति,समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिएका छन् ।
राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा भनिएको छ, तमु समुदायको महान पर्व “तमूल्होसार” का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमू गुरुङ्ग समुदायहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
उनले नेपालमा विभिन्न जातजातिले मनाउने विभिन्न चाडपर्वहरुले विश्वमा नेपालको छुट्टै पहिचान बनाएका छन् भन्दै तमू ल्होसार जस्ता राष्ट्रिय पर्वहरुले हिमाल, पहाड, तराइ र मधेसमा बस्ने सबै नेपालीबीच वन्धुत्व र एकताको भावना वढाउन मद्दत गरेको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालका अमूल्य गहनाका रुपमा मनाइने यस प्रकारका संस्कृति, चाडपर्व तथा धार्मिक रितिरिवाजको संरक्षण र सम्वर्द्धन गर्न सकेमा यिनीहरुले सदियौ सम्म नेपालको चिनारी विश्व सामु गर्नमा मद्दत गर्ने छन् भन्ने विश्वास पनि प्रकट गरेकी छन् ।
उनले तमू गुरुङ्ग समुदायको यस पर्वले सबैमा उत्साह र उमङ्ग कायम गरी नेपालीबीच आपसी सहिष्णुता कायम गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुकको निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि गरेकी छन् ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसारको अवसरमा दिएको शुभकामना सन्देशमा मौलिक संस्कृतिका धनी, स्वाभिमानी र साहसी तमु जातिको ल्होसार पर्र्वले सम्पूर्ण तमु समुदायलाई सामाजिक सद्भाव कायम गर्दै आर्थिक समृद्धिमा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ ।
प्रधानमन्त्री देउवाले स्वदेश र तथा विदेशमा रहनुभएका समस्त तमुहरुमा सुख,शान्ति,समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै यो महान पर्वले तमु समुदाय र यसप्रति सद्भाव राख्ने सबैलाई आफ्नो धर्म संस्कृति र परम्पराको जगेर्ना गर्न अभिप्रेरित गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।