Prakash Adhikari December 29, 2017

कठमाडौं, १४ पौष । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले हाई वे र मूल गेटबाटै सरकारमा आउने झ्याल र भ्यान्टिलेसनबाट नआउने बताएका छन् ।

नेपाल पर्वतारोहण संघको २७ औं साधारण सभाको शुक्रबार राजधानीमा उद्घाटन गर्दै नेता ओलीले सो कुरा बताएका हुन् ।

उनले प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीमा आफ्नो पार्टी प्रतिस्पर्धा गर्न सक्षम भएको पनि दावी गरे ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार छोड्न बिलम्ब गरेकोमा व्यंग्य गर्दै भने, “म सरकार छोड्न आतुर छु पनि भन्ने तर सकेसम्म पछि भने जस्तो गरेर टासिरहने ?”

उनले राजनीतिलाई स्वस्थ मार्गमा लैजान आवश्यक भएको बताउदै अहिले एकल संक्रमणीय मतदानका आधारमा राष्ट्रिय सभाको निर्वाचन गरिने पद्धति समेटिएको अध्यादेश आवश्यक नै नभएको उल्लेख गर्दै भने,“अध्यादेश जारी भएको छ, राष्ट्र्पतिले अध्यादेश जारी गर्ने प्रकृया संवैधानिक भएपनि अध्यादेशप्रति हाम्रो असहमति छ, अध्यादेश अनुचित छ ,राष्ट्र्पतिलाई दवाव दिएर ल्याइएको छ ।”

उनले एकल संक्रमणीय पद्धतिले अहिले राष्ट्रियसभाका सबै सदस्यको निर्वाचन गर्न नसक्ने बताउदै भने ”यसपटक जम्मा ४२ जनाको निर्वाचन गर्न सकिने र यसपछि कामै नलाग्ने पद्धति अवलम्बन गर्नु आवश्यक थिएन र छैन ।“

भावि प्रधानमन्त्रीको रुपमा पनि हेरिएका पूर्व प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसलाई राष्ट्रियसभामा केही सीट चाहिएको भए एमाले दिन तयार रहेको बताउदै भने,” तपाईहरुलाई चाहिएकै हो भने एमाले हैसियतमा छ,दिन सक्छ ।“

एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाको निर्वाचन परिणाम आएपछि नयाँँ सरकार बन्न बाधा नरहेको पनि जिकीर गरे । उनले सरकार निर्माण गर्ने काम प्रतिनिधिसभाको बिजनेस भएको बताउदै यसलाई राष्ट्रियसभाको निर्वाचनसंग जोड्न आवश्यक नभएको पनि बताए ।

निर्वाचनको परिणाम आइसकेपछि सत्ता हस्तान्तरणमा विलम्ब गरी सरकारले केही पपुलर काम र राजनीतिक नियुक्ति गरेकोमा आपत्ति गर्दै उनले भने विगत २८ बर्षमा एमालेले ३ बर्ष मात्रै सरकारको नेतृत्व गरेको छ ।अधिकांश समय सरकारको नेतृत्व गर्ने दललाई सरकार छोड्ने बेलामा कामको चटारो परेकोमा उनले प्रश्न गर्दै भने,“ अहिले सरकारको नीति,कार्यक्रम र बजेट आए जसरी आर्थिक भार पर्ने गरी काम गर्न यो सरकारलाई इमरजेन्सी किन पर्यो ?”

उनले २०७० सालको संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसले एमालेले भन्दा थोरै सीट बढी ल्याएपछि तेस्रो दलसंग मिलेर सरकार बनाउने खेलमा नलागी आफूले नेपाली कांग्रेसका संसदीय दलका नेतालाई प्रधानमन्त्री पदमा प्रस्ताव गरेको स्मरण पनि गरे । पछि सरकार छोड्ने बेलामा भने नेपाली कांग्रेसले पूर्व सहमति बिर्सेको आरोप पनि उनले लगाए ।

उनले माओवादीले आफ्नो नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफूले सरकार छोड्नु पर्ने संवैधानिक बाध्यता नरहे पनि बाधा अड्काउ धारा प्रयोग गरेर निकास दिएको उल्लेख गरे ।

एमाले अध्यक्ष ओलीले २०६४ सालको संविधानसभाको निर्वाचन सकिएको ५ महिना पछि मात्र निर्वाचनमा विजयी बनेको दलले प्रधानमन्त्री बन्न पाएको पनि स्मरण गर्दै निर्वाचनको परिणाम आइसकेपछि पराजितहरुले आफ्नो स्थान आफै खोज्नुपर्ने बताए । “निर्वाचनको परिणाम नै आइसकेपछि कुनै ठाँउ बाँकी रहदैन” एमाले अध्यक्ष ओलीले भने ,”अदालतमा मुद्दाको चाङ्को पनि अर्थ छैन, के राजनीति झगडियाको खेल हो ?“

उनले २०५२ सालमा एमालेलाई असंवैधानिक ढंगले हटाइएको पनि गुनासो गर्दै एमाले झन सबल भएर अधिक जनताको मत लिएर आएको दावी गरे ।

एमाले अध्यक्ष ओलीले नयाँ सरकार गठनमा विलम्ब गरेर केपीलाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्र गर्न खोजिएको बताउदै भने,” नाकाबन्दी लगाएको स्पष्ट बोल्ने, त्यसको विरुद्ध उभिने,देशमा रेल कुदाउछु भन्ने कृषिको आधुनिकीकरण र पर्यटनको विकास गछु भन्ने व्यक्तिलाई रोक्न खोजिएको छ ।“

उनले जनताले बहुमत दिइसकेकोले अन्य षड्यन्त्रहरु काम नलाग्ने पनि जिकीर गरे । जनताले बाम गठबन्धनलाई दिएको बहुमतले सरकार बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने,सुशासन कायम गर्ने,देशभक्ति,देशहित र स्वाभिमानको काम गर्ने प्रत्याभूति भएको स्पष्ट पार्दै भने,”नेपालीको अधिकार,अवसर,संंभावना,उत्थानका लागि काम गर्न कसैले रोक्न सक्दैन।”

भौगोलिक,जातीय,धार्मिक,सांस्कृतिक,जैविक र पर्यावरणीय विविधता भएको मुलुकमा आपसी सद्भाव कायम राख्न र छिमेकी मित्रराष्ट््रहरुसंग समानताका आधारमा सम्बन्ध स्थापित गर्न आफ्नो नेतृत्वको सरकार विगतमा पनि सफल भएको र आगामी दिनमा पनि सफल रहने विश्वास एमाले अध्यक्ष ओलीले व्यक्त गरे ।

कर्यक्रममा नेता ओलीले आगामी सरकारले सार्वजनिक,निजी र सहकारी तीनै क्षेत्रलाई संगसंगै लिएर अगाडि बढ्ने पनि बताए ।

संघको साधारण सभाको समुद्घाटन शत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व परराष्ट््रमन्त्री डा. प्रकाशशरण महत, नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्व पर्यटन मन्त्री प्रदीप ज्ञवाली, टानका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस धादिङ्का सभापति रमेश धमला,संघका अध्यक्ष सन्तबीर लामा लगायतले संबोधन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका एमाले अध्यक्ष ओलीले पर्वतीय पर्यटनको क्षेत्रमा कलम चलाउने नेपाली लेखक,बुद्धिजीबि,पत्रकार र नपाल पर्वतारोहण संघले अनुमति जारी गर्ने चुलीहरुको अघिक प्रबर्धन गर्ने पर्वतारोहण एजेन्सीहरुलाई पनि पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

Share Now

Leave a comment.