काठमाडौं, १७ चैत्र । नेपाल क्रिकेट लिग वोमन्स् टि–२० क्रिकेट लिग प्रतियोगिताको अक्सन आज हुँदैछ ।
आउदो बैशाख ७ देखि १४ गतेसम्म विराटनगरस्थित बैजनाथपुर खेल मैदानमा हुने प्रतियोगिताकालागि ८० खेलाडीले अक्सनमा नामांकन गराएका छन् ।
चार शहरका टोलीबीच हुने प्रतियोगितामा टोलीको नेतृत्व गर्ने मार्की खेलाडी चयन भैसकेका छन् ।
प्रतियोगितामा विराटनगर रोअरिङ लायनेसमा करुणा भण्डारी , भैरहवा क्विन्समा रुबिना क्षेत्री, धनगढी वन्डर वुमनमा सीता रानामगर र काठमाडौ सुपर च्याम्पियन्समा नेरी थापा मार्की खेलाडी रहेका छन ।
सहभागी टोलीका मालिकहरुमा अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस) , दीपक सुवेदीरअनिल भन्डारि (भैरहवा क्विन्स),हरि खनाल (धनगढी वन्डर वोमेन), रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) रहेका छन ।

खेलाडीहरुको पारिश्रमिक बढाबढ १० बजेबाट सुरू हुने हुनेछ । अक्सनमा खेलाडीलाई ग्रेड ‘ए’, ‘बी’ र ‘सी’ गरि तीन तहमा विभाजन गरिएको छ ।
अक्सनमा ग्रेड ‘ए’ का खेलाडीको मूल्य ४० हजार देखि अधिकतम मूल्य ७५ हजार रुपैयाँ रहेको छ भने ‘बी’ ग्रेडका खेलाडीको मूल्य रु २५ हजार देखि अधिकतम मूल्य रु ५० हजार रुपैयाँसम्म छ । यस्तै ‘सी’ ग्रेडका खेलाडीले कम्तिमा १५ हजार र बढीमा २५ हजार पाउनेछन ।
प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १० लाख रुपैयाँ र उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको ‘प्लयेर अफ द म्याच’ले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


















