लण्डन(संयुक्त अधिराज्य),१९ चैत्र (बीबीसी) । युरोपेली सङ्घ ईयुबाट ब्रिटेन बाहिरिने ब्रेक्जिट प्रक्रियाको गतिरोध अन्त्य गर्ने अपेक्षा गरिएका वैकल्पिक प्रस्तावहरूमा ब्रिटिश सांसदहरू सहमत हुन सकेनन्।
तल्लो सदन हाउस अफ कमन्समा सोमवार साँझ प्रस्तुत गरिएका चारवटा प्रस्तावमा कुनैले पनि बहुमत जुटाउन सफल नभएपछि यो प्रक्रिया झन् अनिश्चित बन्दै गएको छ।
संसद्मा ब्रेक्जिटको भावी दिशाबारे वैकल्पिक उपाय खोजिएको यो दोस्रोपटक हो।
ब्रेक्जिटबारे प्रधानमन्त्री टरिजा मे भन्छिन्-‘थकित जनतालाई निर्णय चाहिएको छ’
वैकल्पिक प्रस्तावहरू
ईयुबाट ब्रिटेनको बहिर्गमनका लागि प्रस्तुत गरिएका चार प्रस्ताव यस्ता थिए:
प्रस्ताव १: ईयुसँग भन्सार सङ्घमा रहने,
प्रस्ताव २: ईयुसँग एकल बजार कायम गर्ने,
प्रस्ताव ३: सम्झौतालाई अन्तिम निर्णयका लागि जनमत सङ्ग्रहमा लैजाने, र
प्रस्ताव ४: विना सम्झौता ईयु छाड्नुपर्ने अवस्था आएमा ब्रेक्जिट रद्द गर्ने।
कानुनी रूपमा बाध्यकारी नहुने भए पनि यी प्रस्तावहरू सरकारका लागि अगाडिको बाटो तय गर्न सहयोग गर्ने ठानिएका थिए।
सबैभन्दा झिनो तीन मतले पारित हुन नसकेको प्रस्ताव भने ईयुसँग भन्सार सङ्घमै रहने भन्ने थियो। जसको अर्थ सीमा शुल्क र करका विषयमा अन्य ईयु राष्ट्रसरह एकै प्रणालीमा रहने भन्ने थियो।

उक्त प्रस्तावमा यसअघिको मतदानमा भन्दा बढी मत समेत आएको छ।
उत्तरी आयरल्याण्डको सीमाको विषयलाई हल गर्न यो विकल्प सहयोगी हुने धेरैले ठानेका छन्।
तर त्यसले ब्रिटेनलाई अन्य मुलुकसँग स्वतन्त्र रूपबाट व्यापार सम्झौताहरू गर्न भने रोक्नेछ।
समयसीमा
यसअघि नै प्रधानमन्त्री टरिजा मेले ईयुसँग तयार पारेको बहिर्गमन योजना समेटिएको सम्झौता संसद्मा तीनपटक अस्वीकृत भइसकेको छ।
यतिखेर मेसँग बहिर्गमन प्रक्रियाको अवधि लम्ब्याएर नयाँ बाटो रोज्ने वा विना सम्झौता ईयु छाड्ने विषयमा निर्णय गर्त १२ एप्रिलसम्मको समयसीमा छ।
ब्रिटेनलाई एकल बजार र भन्सार सङ्घभित्रै राख्ने एक संशोधन प्रस्ताव भने सबैभन्दा धेरै मत अन्तरले अस्वीकृत भयो।
उक्त प्रस्ताव पारित नभएपछि सत्तारूढ कन्जरभेटिभ पार्टीका प्रस्तावक निक बोल्सले पार्टीबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्री मे ब्रिटेन ईयु बजारमा रहने कुराको शुरूदेखि विरोध गर्दै आएकी छन्।

ब्रेक्जिट मामिला मन्त्री स्टेफन बर्क्लेले संसद्मा बोल्दै ‘एक मात्र विकल्प’ भनेको सम्झौतासहित ईयु छाड्नु रहेको बताएका छन्।
“यदि संसद्ले यो साता उक्त सम्झौता पारित गर्न सकेमा अझै पनि युरोपेली चुनावबाट पर रहन सकिन्छ।”
ब्रेक्जिटका बारेमा बोल्दै युरोपेली आयोगका अध्यक्ष जँ क्लड यंकरले ब्रिटेनसँग इयुको धैर्यता सकिन लागेको बताएका छन्।
प्रधानमन्त्री मेले ईयुसँगको बहिर्गमन सम्झौतालाई पुन: चौथोपटक संसद्मा ल्याउन सक्ने बताइएको छ।


















