चण्डिगढ(भारत) । इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करणको सोमबार भएको खेलमा जितको नजिक पुगेको खेलमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले किंग्स् इलेभेन पञ्जाबसंग अप्रत्यासित हार खान पुगेको छ ।
उसले पञ्जाबसंग १४ रनको पराजय सामना गरेको छ ।
टस जितेर फिल्डिड. रोजेको दिल्लीले २० ओभरको निर्धारित खेलमा पञ्जाबबाट १ सय ६७ रनको मध्यमस्तरीय लक्ष्य पाएको थियो । पञ्जाबले ९ विकेटको क्षतिमा १ सय ६६ रन जोडेको थियो ।
तर २० ओभरको निर्धारित खेलमा २ बल बाँकी छदै सबै विकेट गुमाएर १सय ५२ रनमा रोकिदै दिल्लीले पराजयको साथ खेलको समापन गर्रयो ।
दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३९ तथा कोलिन इन्ग्रामले ३८ रन बनाए । यस्तै शिखर धवनले ३० तथा कप्तान श्रेयस आयर २८ रनमा आउट भए ।
दिल्लीलाई सस्तैमा समेट्न पन्जाबका साम करणले ह्याट्रिकसहित ४ विकेट लिए । जारी सिजनको यो पहिलो ह्याट्रिक विकेट हो । सामले १७ औं ओभरको अन्तिम बल र १९ औं ओभरको सुरुवाती २ बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरे ।
सामले १७ औं ओभरको अन्तिम बलमा हर्षल पटेललाई शून्य रनमा पेभेलियन फर्काएका थिए । त्यसपछि १९ औं ओभरको पहिलो बलमा कागीसो राबडा र दोस्रो बलमा सन्दीप लामिछानेलाई बोल्ड आउट गरे । दुवै खेलाडी शून्य रनमा पेभेलियन फर्किए ।
यस्तै रविचन्द्र आश्विन र मोहमद सामीले २ ।२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।
खराब सुरुवात गरेको पन्जाबका लागि डेभिड मिल्लरले ४३ तथा सर्फराज खानले ३९ रन बनाए । यस्तै मन्दीप सिंहले अविजित २९ , साम कुरनले २० रन जोड्दा लोकेश राहुलले १५ रन बनाए ।
दिल्लीका क्रिस मोरिसले २ तथा कागीसो राबडा र सन्दीपले २। २ विकेट लिए ।
पन्जाबविरुद्ध सन्दीपले उत्कृष्ट प्रर्दशन गर्दै उनले २ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर २ विकेट लिएका थिए ।
सन्दीपले पहिलो ओभरमा साम कुरनलाई २० रनमा एल्बिडब्ल्यु आउट गरे । यस्तै सन्दीपले चौथो ओभरमा सर्फराज खानलाई ३९ रनमा आउट गरेका थिए ।
जितसंगै पन्जाबले ४ खेलबाट ६ अंक जोडेको छ । र, लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित दिल्ली ४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।


















