Prakash Adhikari April 2, 2019

काठमाडौं,१९ चैत्र ।  आइतवार साँझ तराईका दुई जिल्ला बारा र पर्सामा विध्वंस मच्चाएको हावाहुरीले विद्युतीय पूर्वाधारमा पनि ठूलो क्षति पुर्‍याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

स्थानीय वायुको प्रभावबाट सिर्जना भएको भीषण हावाहुरीले करिब दुई हजार बिजुलीको खम्बा ढालेको अनुमान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका छन्।

हावाहुरीको प्रभाव परेका जिल्लामा सकेसम्म चाँडो विद्युत् प्रवाह शुरू गर्नका लागि आवश्यक जनशक्ति खटाइसकिएको घिसिङले बीबीसी नेपाली सेवालाई बताएका छन्।

“ठूलो सङख्यामा क्षति पुगेको छ। तर हामीसँग आवश्यक सामाग्री र जनशक्ति उपलब्ध भएकाले एक हप्ताभित्र विद्युत् प्रवाह शुरू गर्ने लक्ष्य राखेका छौँ,” घिसिङले भने।

क्षतिको विवरण

स्थानीय वायुको प्रभाव र भारतमा मध्यप्रदेश निम्न चापीय क्षेत्र विकसित हुँदा शक्तिशाली स्वरूप लिएको हावाहुरीले तराईका दुई जिल्लामा प्रसारण लाइन, ट्रान्सफर्मर र पोलमा क्षति पुर्‍याएको छ।

प्रभावित क्षेत्रका अधिकांश पोल भाँचिएको छ भने तार हावाले उडाएका छन्।

त्यस्तै १० वटा ट्रान्सफर्मर पूर्णरूपमा ध्वस्त भएका छन्।

“अहिले हामीले ३३ केभीको प्रसारण लाइन चार्ज गरेर अस्पताल लगायतका स्थानमा विद्युत् पुर्‍याएका छौँ,” घिसिङले भने।

“सहरी क्षेत्रमा खासै समस्या पर्ने देखिँदैन। ग्रामीण भेगमा भने ११ केभी र ३३ केभीका प्रसारण लाइन चार्ज गर्नुपर्ने र त्यसको संरचना ध्वस्त भएको हुँदा समय लाग्ने अवस्था देखिन्छ।”

उनले ट्रान्सफर्मर मर्मत र नयाँ ट्रान्सफर्मर जडानका लागि चाहिने सामग्री आफूहरूसँग रहेको जानकारी दिए।

भारतबाट बिजुली आपूर्ति गर्नका लागि प्रयोग गरिने अन्तरदेशीय प्रसारण लाइनमा समेत प्रभाव परेकाले प्राधिकरणले मुलुकको एकमात्र जलाशययुक्त आयोजना कुलेखानी चलाएर माग धानिरहेको बताएको छ।

आपत्‍कालीन अवस्थाका लागि कुलेखानीमा पानी सञ्चित गरिने र हाल पानीको तह राम्रै रहेकाले समस्या नहुने घिसिङको भनाइ छ।

बीबीसीबाट

Share Now

Leave a comment.