Prakash Adhikari April 6, 2019

दुहवी(सुनसरी),२३ चैत्र । तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र क्यामरुनको दाफिन्स क्लब आज फाइनलमा भिड्दै छन् ।

खेल दुहबी रंगशालामा  ३ बजे सुरु हुनेछ ।

बिहीबार दुहबी रंगशालामा भएको दोस्रो सेमिफाइनलमा दाफिन्सले काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–० ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो ।

दाफिन्सका लागि खेलको दशौं मिनटमा अंगुविनले पहिलो गोल गरे । त्यस्तै ३२औं मिनटमा पिटेंगाले त्यो अग्रता दोब्बर पारे भने ३९औं मिनटमा डिडेर टिनाले तेस्रो गोल गर्दै अफ्रिकी टोलीको जित पक्का गरे ।

खेलमा दाफिन्सका अंगुविन म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे ।

थ्री स्टारलाई हराउदै त्रिभुवन आर्मी क्लब फाइनलमा

बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले रुस्लान थ्रीस्टार क्लबलाई २–० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

दुहबी रंगशालामा भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्पन्न भएका थिए । पहिलो गोल खेलको ५१औं मिनटमा कप्तान भरत खवासले गरे भने ६६औं मिनटमा टेक बुढाथोकीले दोस्रो गोल गर्दै विभागीय टोलीको जित सुनिश्चित गरेका थिए ।

बुधबारको खेलमा आर्मीका भरत खवास म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद १० हजार प्राप्त गरेका थिए ।

Share Now

Leave a comment.