म्यानमार,२३ चैत्र । एएफसी ओलम्पिक महिला छनौट फुटबल प्रतियोगिताको दोस्रो चरणतर्फ लगातार दोस्रो हार ब्यहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
म्यानमारमा जारी प्रतियोगितातर्फ शनिबार भएको आफ्नो दोस्रो खेलमा नेपाल भारतसँग ३–१ पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।
मंगलरथिरी स्टेडियममा भएको खेलमा नेपालको सुरुआत राम्रो भएन । छैठौं मिनटमै पुनम जर्घा मगरले आत्मघाती गोल गरेर टिमलाई रक्षात्मक बनाइन् ।
यद्यपि त्यसलगतै निरु थापाले नेपालका लागि बराबरी गोल फर्काएकी थिईन् । तर त्यो बराबरी नतिजा नेपालले पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो ।
खेलको ६०औं मिनटमा भारतीय खेलाडी सन्ध्या रंगनाथनले दोस्रो गोल गरिन् ।
त्यस्तै भारतीय खेलाडीलाई गोलरक्षक एन्जिला सुब्बाले बक्सभित्र फल गरेपछि भारतले पेनाल्टीको अवसर पाएको थियो ।
जसलाई ७९औं मिनटमा आशा लता देवीले कुनै गल्ती नगरी गोलमा परिणत गरेकी थिईन् ।
बाँकी समयमा नेपालले गोल गर्न सकेन र यो हारसँगै नेपालको ओलम्पिक छनौटको यात्रामा पूर्णविराम लगायो ।
नेपालले आफ्नो पहिलो खेलमा आयोजक म्यानमारसँग पनि समान ३–१ को हार बेहोरेको थियो । त्यस्तै भारतले भने इण्डोनेसियालाई २–० ले हराएको थियो ।
हालै बिराटनगरमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा पनि भारतसँग नेपाल ३–१ ले पराजित भएको थियो।
समूह चरणतर्फ नेपालले आफ्नो अन्तिम खेल आउँदो मंगलबार इण्डोनेसियासँग खेल्नेछ भने सोही दिन भारतले म्यानमारको सामना गर्नेछ ।


















