काठमाडौं, १४ पौष । नेपाल राष्ट्र ‘बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालकहरुलाई अब एउटा बैंक छाडेर अर्कोमा जानुअघि ६ महिना खाली बस्नुपर्ने नियम ल्याएको छ। बैंक तथा वित्तीय संस्थाका सिइओ तथा संचालकका लागि ल्याइएको ६ महिने ‘कुलिङ पिरियड’ तत्कालै लागू भएको छ।
यो लागू भएसँगै एउटा बैंक वा वित्तीय संस्थाबाट राजीनामा दिएको ६ महिनासम्म अर्को कुनै बैंक वा वित्तीय संस्थामा पदबहाली गर्न पाइने छैन। पदावधि नसकिँदै हटेर पुनः त्यही बैंकमा पद बहाली गर्न वा संचालक समितिको सदस्य रहन पनि ६ महिना पुरा हुनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै एउटा बैंक तथा वित्तीय संस्थामा संचालक रहेको व्यक्ति पुनः अर्कोमा जान पनि ६ महिनाको अवधि पुरा हुनुपर्ने व्यवस्था गरिएको छ।
स्वतन्त्र संचालकको हकमा भने यो लागू हुने छैन। कार्यकाल बाँकी रहँदा नै संस्थाबाट हटेमा पुनः बाँकी कार्यकालका लागि सो व्यक्ति संचालक पदमा निर्वाचित वा मनोनित हुन पाउने छैन।
राष्ट्र बैक ऐनमा, गभर्नरले आजीवन आफूले नियमन गर्ने संस्थामा बस्न नपाउने ब्यवस्था गरिएको छ । त्यस्तै डेपुटी गभर्नर र कार्यकारी निर्देशकहरुलाई ३ बर्षको सीमा तोकिएको छ भने अधिकृत स्तरका कर्मचारीले आफ्नो पदबाट हटेको वा अवकास पाएको मितिले २ वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने व्यवस्था छ ।
हालै नविल बैंकमा सिइओका रुपमा जान लागेका अनिलकेशरी शाहलाई पनि यो निर्देशिकाले प्रभावित पार्ने भएको छ। मेगा बैंकबाट राजीनामा दिएका उनी त्यसको ६ महिनाअघि नविलको सिइओको रुपमा बहाल हुन नपाउने भएका छन्। पुसमा मेगा बैंक छाडेका उनले फागुनमा नविलको कार्यभार सम्हाल्ने मिति तय भएको थियो।
राष्ट्र बैंकले कुलिङ पिरियड लागू गरेसंगै आधा दर्जन बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीहरु अब ६ महिना बेरोजगार बन्ने भएका छन। यस्तैमा माघ ५ देखि नबिल बैंक छाड्न लागेका शशिन जोशी, सेञ्चुरी बैंक छाडेका अनुजमणी तिमल्सिना, कुमारी बैंक छाडेका राजीव गिरी, बैंक अफ काठमाडौ छाडेका अजय श्रेष्ठ, जनता बैंक छाडेका कुमार लम्माल, सिभिल बैंक छाडेका किशोर मर्हजन, ग्लोबल आइएमई छाडेका अनिल ज्ञवाली लगायतका बैंकरहरु करिब ६ महिना बेरोजगार बन्ने भएका छन।