बीरगञ्ज(पर्सा),२३ चैत्र । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले स्थानीय तहले म्युनिसिपल बण्ड जारी गरी विकास खर्च जुटाउन सक्ने व्यवस्था मिलाउन धितोपत्र बोर्ड कार्यरत रहेको बताउनुभएको छ ।
नेपालको आर्थिक तथा ब्यापारिक राजधानी मानिदै आएको बीरगञ्जमा धितोपत्र र पूँजी बजारका गतिविधि बढाउने उद्देश्यले शुक्रबार आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
देश संघीयतामा गैसकेको र केही प्रदेशहरुले राजधानी समेत तोकिसकेको अवस्थामा प्रदेशका राजधानी तथा मुख्य शहरुहरुमा धितोपत्रसहित पूँजी बजारका गतिविधि बढाउने उद्देश्यले प्रादेशिक राजधानी र मुख्य शहरहरुमा सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ । प्रदेश नं २ को राजधानी जनकपुरमा कार्यक्रम गरेपछि बोर्डले बीरगञ्जमा सो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोर्डका अध्यक्ष डा. काकीले कतिपय मुलुकमा स्थानीय सरकारले पनि ऋणपत्र जारी गरेर विकास निर्माणका काम गर्ने गरिरहेको र नेपालमा पनि त्यो संभावना रहेकोले त्यसतर्फ बोर्डले विचार गरिरहेको बताउनुभएको हो ।
२०१८ सालदेखि नै सरकारले ऋणपत्र निकाल्न थालेको हो । प्रदेश सरकारले पनि ऋणपत्र जारी गर्न सक्ने प्रावधान छ तर उसले गरेको छैन’ उहाँले भन्नुभयो ‘ स्थानीय सरकारले पनि ऋणपत्र निकालेर विकासका काम गर्न सक्ने वातावरण मिलाउने प्रयासमा छौं । जस्तो नगरपालिकामा नगर विकास कोष छ । रेटिङ गरेर ऋणपत्र जारी गर्ने व्यवस्था मिलाउनुपर्छ ।’
ऋणपत्र जारी गरेर विकासका काम गर्न जनप्रतिनिधिहरु भने इमान्दार हुनुपर्नेमा उहाँले बताउनु भयो ।
वीरगञ्जमा आयोजित छलफल कार्यक्रममा अध्यक्ष कार्कीले स–साना लगानी कर्तालाई समेत धितोपत्रमा समेट्ने उद्देश्यले १० कित्ता शेयर समेत भर्न सक्ने प्रावधान ल्याएको उल्लेख गर्नुभयो ।
धितोपत्र बोर्डले धितोपत्र बजारलाई प्रतिस्पर्धात्मक,पारदर्शी, लगानीकर्तामैत्री बनाउन निकै सुधार गरिएको दावी गर्दै उनले विभिन्न सरोकारवालाहरुको प्रतिक्रिया लिएर अझै सुधारका कदम चाल्दै जाने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले हाइड्रो पावरलाई नियामक निकाय नभएको, संस्थाको आर्थिक अवस्था विश्लेषण नगरी प्रिमियमसहित शेयर जारी गर्न दिने गरेको, कम्पनीबाट आईपीओ भर्दा नपर्ने समस्या देखिएको लगायतका गुनासो राखेका थिए ।


















