हैदरबाद(आन्ध्र प्रदेश, भारत), २३ चैत्र । क्यारेबियन खेलाडी अल्जारी जोसेफले ६ विकेट लिएपछि इन्डियन प्रिमियर लिग अन्तर्गत शनिवार राति सम्पन्न दोश्रो खेलमा मुम्बई इन्डिएन्सले सनराईजर्स हैदराबादलाई घरेलु रंगशालामा ४० रनले पराजित गरेको छ।
हैदराबादको घरेलु मैदान राजीव गान्धी स्टेडियममा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै मुम्बईले १सय ३६ रन बनाएको थियो ।
१ सय ३७ रनको लक्ष्यभेदन गर्न ब्याटिंग उत्रिएको घरेलु टिमले १७.४ ओभरमा ९६ रन मात्रै बनाउन सक्यो ।
शनिवारको नतिजा पछि मुम्बई र हैदरावाद दुवै टिमले ५ खेलमा ३ जित र २ हार सहित समान ६ अंक बटुलेका छन्। नेटरन रेटको आधारमा हैदराबाद दोश्रो र मुम्बई चौथो स्थानमा रहेको छ। ४ खेलमा ३ जित र १ हार बेहोरेको कोलकाता समान अंक सहित तेश्रो स्थानमा रहेको छ।

डेब्यु खेलमै जोसेफको उत्कृष्ट बलिङ्ग
१ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादले छिटो छिटो विकेट गुमायो । ३३ रनको योगफलमा ओपनर जोनी बेयरस्टो १६ रन बनाएर आउट भएलगत्तै डेभिड वार्नर १५ रन बनाएर आउट भए। त्यसपछि विजयशंकर ५ रन, मनिष पाण्डे १६ रन तथा युसुफ पठान शून्य रनमै आउट भए।
त्यसपछि दिपक हुडाले २० रन बनाएर इनिंग सम्हाल्ने प्रयास गरे पनि लामो समय टिकेन , निरन्तर विकेट झरिरह्यो । मोहम्मद नाबीको ११ रनबाहेक त्यसपछि अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।
फलस्वरूप १७.४ ओभरमा सबै विकेट गुमाउदै हैदराबाद ९६ रनमा सीमित भयो।
हैदराबादलाई कम योगफलमा समेट्न मुम्बई बलर अल्जारी जोसेफ एक्लैले ६ विकेट लिए। त्यस क्रममा उनले ३.४ ओभरमा १ मेडन ओभर गर्दै १२ रन मात्रै खर्चिए। २२ वर्षीय वेस्ट इन्डिज फास्ट बलरले मुम्बईको लागि पहिलो खेलमै उत्कृष्ट बलिङ्ग गरेका हुन्।
यस्तै मुम्बईका बलर राहुल चाहरले २ विकेट तथा जेसन बेह्रेनडर्फ र जस्प्रित बुम्राहले १ ।१ विकेट लिए।

पोलार्डको ब्याटिड.
टस हारेर ब्याटिंग गरेको मुम्बईको लागि काइरन पोलार्डले सर्वाधिक ४६ रन योगदान दिएका थिए। अविजित इनिंग खेल्ने क्रममा उनले २६ बलमा ४ छक्का र २ चौका प्रहार गरे।
खराब सुरुवात गर्ने क्रममा मुम्बई कप्तान रोहित शर्मा ११ रन, क्विन्टन डिकक १९ रन, सुर्यकुमार यादब ७ रन, इशान किशान १७ रन तथा कृनल पान्ड्या ६ रन बनाएर आउट भएका थिए। पहिलो ५ विकेट गुमाउदा मुम्बईले १२.५ ओभरमा ६५ रन बनाएको थियो।
त्यसपछि एक किनार सम्हालेका पोलार्डले अन्तिमसम्म मुम्बई इनिंग सम्हालेका थिए। त्यस क्रममा उनले १९ औं ओभरमा सिद्धार्थ कौललाई ३ छक्का प्रहार गरेका थिए। यस्तै २० औं ओभरमा भुवनेश्वर कुमारको ओभरमा उनले २ चौका र १ छक्का प्रहार गर्दै मुम्बईलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए।
हैदराबादका बलर सिद्धार्थ कौलले २ ,भुवनेश्वर कुमार,सन्दीप शर्मा , मोहम्मद नाबी तथा राशिद खानले १ । १ विकेट लिए।


















