बैंगलोर(कर्नाटका,भारत),२४ चैत्र । भारतको चर्चित घरेलु क्रिकेट लिग इण्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गतको २० औ खेलमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले आफ्नो छैठौं खेलमा रोयल च्यालेञ्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गरेको छ।
बंैगलोरमाथिको जितसंगै दिल्ली ६ खेलमा ३ जित र ३ हार बेहोर्दै अंकतालिकाको पाँचौ स्थानमा उक्लेको छ। बैंगलोर भने ६ खेलमा ६ वटै हारको साथ पुछारमा रहेको छ ।
खेलमा बैंगलोरले पहिले ब्याटिंग गर्दै दिएको १ सय ५० रनको लक्ष्य दिल्लीले ६ विकेट गुमाएर १८.५ ओभरमा पूरा गरेको थियो।
दिल्लीको लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ६७ रन बनाए । उनले ५० बलमा २ छक्का र ८ चौका प्रहार गरेर टिमलाई विजयी बनाउन महत्वपूर्ण योगदान गरे। ऐयरले पृथ्वी शासंग ६८ रनको, कोलिन इन्ग्रामसंग ३९ रनको तथा ऋषभ पन्तसंग ३७ रनको साझेदारी गरे। पृथ्वी २८, इन्ग्रामले २२ तथा ऋषभ पन्तले १८ रन बनाए।
बैंगलोरको घरेलु मैदान चिन्न्स्वामी स्टेडियममा टस हारेर ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो।
बैंगलोरको लागि कप्तान बिराट कोहलीले सर्वाधिक ४१ रन बनाए । उनले ३३ बलमा २ छक्का र १ चौका प्रहार गरे। यस्तै मोईन अलिले १८ बलमा ३ छक्का र १ चौकाको मद्दले ३२ रन जोडे । बैंगलोरलाई ए बि डी भिल्लियर्सले १७ रन , अक्षदीप नाथले १९ रन तथा मार्कस स्टोइनिसले १५ रनको योगदान दिए।
कोहलीले डीभिल्लीयर्ससंग २४ रन, स्टोइनिससंग २६ रन तथा मोइन अलिसंग ३७ रन तथा अक्षदिप नाथसंग ३० रनको साझेदारी गरे।
१७ ओभरमा १३३ । ४ को अवस्थामा रहेको बैंगलोरलाई १ सय ४९ रनमा सीमित गर्न दिल्लीका बलर कागीसो रबाडाले ४ विकेट लिए भने क्रिस मोरिसले २, अक्षर पटेल र सन्दीप लामिछानेले १।१ विकेट लिए।