Prakash Adhikari April 9, 2019

 

 

चण्डिगढ(पञ्जाब), २५ चैत्र । चर्चित भारतीय घरेलु लिग प्रतियोगिता इण्डियन प्रिमियर लिग अन्तरगत सोमबार सम्पन्न २२ औं खेलमा सन राइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै किंग्स इलाभेन पञ्जाव इण्डियन अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

पञ्जाबको घरेलु मैदान आईएस बिन्द्रा रंगशाला मोहालीमा भएको खेलमा हैदराबादले दिएको १ सय ५१ रनको लक्ष्य पञ्जावले १ बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गरेको थियो।

ओपनर क्रिश गेललाई १६ रनको व्यक्तिगत स्कोरमा सुरुमै गुमाएको पञ्जावका केएल राहुल र मयंक अग्रवालले दोस्रो विकेटका लागि ११४ रनको शतकीय साझेदारी गरेका थिए ।

टिमको स्कोर १ सय ३३ रन हुँदा मयंक ५५ रन बनाएर आउट भए । उनले ४३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । राहुलले ५३ बलमा ७ चौका र १ छक्कासहित अविजित ७१ रन बनाउदै खेल जिताएका थिए ।

बलिङतर्फ हैदराबादका सन्दीप शर्माले २ तथा रसिद खाँ र सन्दीप शर्माले १ १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले ओपनर डेभिड वार्नरको अविजित ७० रनको सहयोगमा निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

वार्नरले ६२ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए । जोनी बेरिस्टो १ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका विजय शंकरसँग मिलेर वार्नरले ४९ रनको साझेदारी गरे ।

शंकर २६ रनको स्कोरमा आउट भएपछि आएका मोहम्मद नाभीसँग मिलेर तेस्रो विकेटका लागि २४ तथा मनिस पाण्डेसँग मिलेर चौथो विकेटका लागि ५५ रनको अर्धशतकीय साझेदारी गरेका थिए । नाभीले १२ तथा पाण्डेले १९ रन बनाए । दीपक हुड्डा १४ रनमा अविजित रहे ।

बलिङतर्फ पञ्जावका कप्तान रविचन्द्रन आश्विन, मुजिव उर रहमान र मोहम्मद सामीले एक एक विकेट बाँडे । अश्विनको बलमा मोहम्मद नाभी रन आउट हुँदा पञ्जाबले थप एक विकेट लिएको थियो ।

Share Now

Leave a comment.