Prakash Adhikari April 13, 2019

क्वाललम्पुर(मलेसिया), ३० चैत्र । मलेसियामा सुरु भएको आईसीसी अन्डर१९ विश्वकप छनौट ( एसिया ) प्रतियोगिता अन्तर्गत नेपालले अहिले युनाईटेड अरब इमिरेट्सं(युएईं) विरुद्ध खेलिरहेको छ ।

मलेसियाको किनरारा क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर ब्याटिड.को निम्तो पाएको छ ।

१९ औं ओभर सकिदा नेपालले २ विकेटको क्षतिमा ९१ रन जोडेको छ ।

नेपालसहित मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएईले प्रतिस्पर्धा गरिरहेको यस प्रतियोगिताको विजेता टीम सन् २०२० जनवरी-फेब्रुवरीमा दक्षिण अफ्रिकामा आयोजना हुने यु -१९ विश्वकप खेल्न छनौट हुनेछ।

Image may contain: 6 people, people smiling, people standing and text

शुक्रबार भएको खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनको विशाल अन्तरले पराजित गरी २ अंक बटुलेको छ ।

प्रतियोगितामा युएई र कुवेतले पनि समान जित हासिल गरि समान अंक बटुलेका छन् । हिजो भएको खेलमा कुवेतले ओमानलाई पराजित गरेको थियो भने युएइले मलेसियालाई ।

युएईले आयोजक मलेसियालाई ५ विकेटले पराजित गरिसकेको छ। मलेसियाले दिएको २ सय ७ रनको लक्ष्य युएईले ४७.१ ओभरमा पूरा गरेको थियो।

विगतमा भएका खेलको विश्लेषण गर्दा नेपाल युएईसंग तर्सनुपर्ने कारण देखिदैन । यस अगाडि नेपाल र युएईबीच भएका पाँच खेलमा नेपालले चार खेलमा सहजै जितेको छ ।

सन् २०१८ मा भएको एसीसी यु १९ एसिया कपमा नेपालले युएईबिरुद्ध रोमान्चक जित हासिल गरेको थियो । खेलमा युएईले दिएको २ सय ६९ रनको लक्ष्य ७ विकेट गुमाएर ५ बल बाँकी छदा नेपालले पूरा गरेको थियो।

जितमा रोहित पौडेलले ९१ रनको उत्कृष्ट इनिंग खेलेका थिए भने सन्दीप जोराले ७७ रन बनाएका थिए।


सन् २०१५ मा सम्पन्न एसीसी यु१९ प्रिमियर लिगमा पनि नेपालले युएईलाई पराजित गरेको थियो । नेपालले १ सय ४९ रनको विशाल अन्तरले पराजित गरेको यो खेलमा पहिले ब्याटिंग गर्दै नेपालले १ सय ९९ रन बनायो । जवाफमा उत्रेको युएईलाई ५० रनमा समेटियो। नेपालको जितमा ब्याटिंगमा राजु रिजालले ६२ रन जोडेका थिए भने बलिङ्गमा सुशील कंडेलले ४ र सुनिल धमलाले ३ विकेट लिएका थिए।

सन् २०१४ मा भएको एसीसी यु १९ प्रिमियर लिग खेलमा पनि नेपालले युएईलाई पराजित गरेको थियो । टस हारेर ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५० रनको योगफल तयार गरेको थियो। २ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा युएईले १ सय ५६ रनमा सबै विकेट गुमाउन पुग्यो र ९४ रनको हार बेहोर्न पुग्यो।

नेपालको जितमा आरिफ शेखले सर्वाधिक ६० रन, शंकर रानाले ४८ तथा प्रेम तामांगले ५२ रनको इनिंग खेलेका थिए। बलिङ्गमा दिपेन्द्र ऐरिले ३ र इर्शाद एहमदले २ विकेट लिएका थिए।

सन् २०१३ को एसीसी यु १९ इलाइट कपको सेमीफाइनलमा भने नेपाल युएईसंग पराजित भएको थियो । मलेसियामा आयोजित सो प्रतियोगितामा टस हारेर पहिले ब्याटिंग गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७१ रनको योगफल तयार गरेको थियो। २ सय ७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४६.१ ओभरमा सबै विकेट गुमाउदै जम्मा १ सय ९५ रन जोड्यो र ७६ रनको हार बेहोर्नपुग्यो।

तर सोही प्रतियोगिताको समूह चरणमा भने नेपालले युएईलाई ४ विकेटले जितेको थियो । टस जितेर ब्याटिंग गर्ने क्रममा युएईले १ सय ५९ रनमा सबै विकेट गुमाएको थियो। १ सय ६० रनको लक्ष्य नेपालले ३३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। बलिङ्गमा सुशन भारीले नेपालको लागि सर्वाधिक ४ विकेट र ललितसिंह भण्डारीले २ विकेट लिएका थिए। ब्याटिंगतर्फ आरिफ शेखले सर्वाधिक ४८ रन बनाउदै नेपाललाई विजयी बनाएका थिए।

Share Now

Leave a comment.