पेरिस(फ्रान्स),३ बैशाख(बीबीसी) । फ्रान्सको राजधानी प्यारिसस्थित मध्ययुगीन नोट्र-डाम कथिड्रलमा भीषण आगलागी हुँदा भवनमा आंशिक क्षति भएको छ।
साढे आठ सय पुरानो गोथिक भवनको शिखर र छाना खसेको छ। यद्यपि दुईवटा बेल टावरसहित प्रमुख संरचना जोगिएको अधिकारीहरूले बताएका छन्।
टोलीहरूले सो प्राचीन गिर्जाघरभित्र रहेका कलाकृतिलाई जोगाउने प्रयत्न गरिरहँदा अग्निनियन्त्रकहरू आगो नियन्त्रणमा लिन अझै प्रयासरत छन्।
राष्ट्रपति एमानुएल माक्रोँले आगलागीलाई एउटा “ठूलो विपद्”को सङ्ज्ञा दिएका छन्। आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन।
अधिकारीहरूले जीर्णोद्धार कार्यसँग आगलागीको सम्बन्ध हुन सक्ने बताएका छन्।
ढुङ्गाहरू चर्किन थालेपछि कथिड्रल भत्किन सक्ने आशङ्कामा त्यसको जीर्णोद्धार थालिएको थियो।
प्यारिसको अभियोजनकर्ताको कार्यालयले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।

घटनास्थलमा भावुक देखिएका राष्ट्रपति माक्रोँले कथिड्रलको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय रूपमा रकम सङ्कलन अभियान थाल्ने प्रतिबद्धता जनाए।
आगो कसरी फैलियो?
स्थानीय समयानुसार सोमवार साँझ साढे ६ बजे सुरु भएको आगलागी छिट्टै कथिड्रलको छानासम्म फैलियो।
कथिड्रलको शिखरलाई खसाल्नुअघि आगोले रङ्गीन सिसाका झ्यालहरू र काठका सजावटलाई ध्वस्त बनायो।
एउटा बेल टावरलाई जोगाउने प्रयासमा झन्डै पाँच सयजना अग्निनियन्त्रक जुटेका थिए।

त्यसको चार घण्टाभन्दा बढी समयपछि प्रमुख अग्निनियन्त्रक जाँ क्लोड गालेले प्रमुख संरचनालाई पूर्णरूपमा क्षतिग्रस्त हुनबाट “जोगाउन र संरक्षण गर्न” सफल भएको बताए।
प्यारिसका उपमेयरले भवनमा “व्यापक क्षति” भएको बताउँदै बाँकी कलाकृतिहरू जोगाउन टोलीहरू प्रयासरत रहेको बताए।
फ्रान्सको बीएफएमटीभीसँग कुरा गर्दै इतिहासविद् कामी पास्कलले आगलागीले अमूल्य सम्पदा नष्ट गरेको बताए।
“आठ सय वर्षदेखि प्यारिसमा नोट्र-डाम कथिड्रल हेरिँदै आएको छ। शताब्दिऔँदेखि सुख र दुःख सबै घटनामा नोट्रु-डामको घण्ट बज्दै आएको थियो।”
उनले थपे, “हामी आजको दृश्य स्तब्ध मात्र हुन सक्छौँ।”
J’ai pas les mots. C’est inimaginable. #NotreDame pic.twitter.com/C05b4RLJcr
— areno (@liugareno) April 15, 2019
गत वर्ष फ्रान्सको क्याथोलिक गिर्जाघरले जीर्ण भएको भन्दै सो भवनलाई जोगाउनका निम्ति सहयोग गर्न आह्वान गरेको थियो।
जर्मन चान्सलर मर्केलले नोट्र-डाम कथिड्रललाई “फ्रान्सेली र युरोपेली संस्कृतिको एउटा प्रतीक” भन्दै फ्रान्सेली नागरिकलाई सहयोगको प्रस्ताव गरेकी छन्।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि आगलागीको घटनाप्रति चिन्ता व्यक्त गरेका छन्।
Absolutely heartbreaking to see the Notre-Dame Cathedral in flames. Canadians are thinking of our friends in France as you fight this devastating fire.
— Justin Trudeau (@JustinTrudeau) April 15, 2019
बर्सेनि लाखौँ मानिसले नोट्रु-डाम कथिड्रलको अवलोकन गर्ने गर्छन्।
मानिसहरूले कसरी प्रतिक्रिया जनाए?
https://twitter.com/DavRo13/status/1117954309600108544
कतिपय मानिसहरूले रोइरहेको देखियो थिए भने कतिपयले प्रार्थना गरिरहेका थिए।
प्यारिसका थुप्रै गिर्जाघरहरूले आगलागीप्रति प्रतिक्रिया जनाउँदै घण्ट बजाएका थिए।
फ्रान्समा महिनौँदेखि भइरहेका प्रदर्शनका पृष्ठभूमिमा राष्ट्रपति माक्रोँले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन आगलागीको घटनालाई लिएर स्थगित गरे ।


















