काठमाडौं,४ बैशाख । नेपालमा नागरिकताको विवाद लगभग टुंगिएको छ ।सर्वोच्च अदालतले बैशाख ३ गते यस विषयको किनारा लगाएको छ । जन्मको आधारमा नेपाली नागरिकता लिएका नेपालीहरुको सन्ततिले अब वंशजको नागरिकता पाउने छन् ।
नयाँ संविधानमा वंशज,अंगीकृत,सम्मानार्थ नागरिक र गैरआवासीय नेपाली नागरिक गरि चार वर्गका नागरिक रहने व्यवस्था गरियो । यस पहिले जन्मका आधारमा जन्मसिद्ध नागरिकता लिएका नागरिक र तिनका सन्ततिको बारेमा के हुने भन्ने अन्योल नै रहेको थियो । जन्मसिद्ध नागरिकका संन्ततिलाई वंशजको नागरिकता दिने विषयको किनारा लागेको थिएन ।
पछिल्लो विवाद
नागरिकतासम्बन्धी पछिल्लो विवाद गृहमन्त्रालयले जारी गरेको एक परिपत्रबाट भएको देखिन्छ । गृह मन्त्रालयले चैत १९ गते सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी जन्मका आधारमा नागरिकता प्राप्त गर्नेको सन्तानलाई कानून बमोजिम वंशजको नागरिकता दिने निर्णय भएकोले सो निर्णय कार्यान्वयन गरी नागरिकता सम्बन्धी कार्य सम्पादन गर्न आग्रह गरेको थियो ।
त्यसअनुसार जिल्ला प्रशासन कार्यालयहरुले नागरिकता वितरण गर्न थालेका थिए ।
तर गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता वालकृष्ण नेउपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गर्नुभयो । उक्त रिटमाथि सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पत्र यथास्थितिमा राख्न आदेश दिँदै मुद्दाका पक्ष र विपक्षलाई वैशाख ३ गते छलफलका लागि बोलाएको थियो ।
मंगलबार सो मुद्दामा रिट निवेदक र सरकार दुवै पक्षको जिकीर सुनेपछि सर्वोच्च अदालतका न्यायाधीशहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय सुनायो ।
अब गृह मन्त्रालयको पत्र अनुसार जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता लिने बाटो खुलेको छ ।
वंशजको नागरिकताको महत्व
नेपालको संविधानमा समानताको हकमा सबै नागरिकलाई समान अधिकार प्राप्त हुने व्यवस्था भए पनि नागरिकलाई नै विभिन्न वर्गमा विभाजन गरिएको छ ।
संविधानको नागरिकतासम्बन्धी व्यवस्थामा नेपालमा वंशज,अंगीकृत,सम्मानार्थ नागरिक र गैरआवासीय नेपाली नागरिक गरि चार वर्गका नागरिक हुने व्यवस्था गरिएको छ ।
मौलिक अधिकारमा सबै नागरिकलाई समान अधिकार हुने र भेदभाव नगरिने उल्लेख भएता पनि राज्यको अस्तित्व र नागरिकको विशेष सम्बन्धलाई ध्यानमा राखेर विशेष व्यवस्था गरिएको छ ।
संविधानको भाग ३२ को विविध खण्ड अन्तरगत धारा २८९ मा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनीत वा नियुक्ति हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति हुनै पर्ने किटानी व्यवस्था छ ।
२८९. पदाधिकारीको नागरिकता सम्बन्धी विशेष व्यवस्था :
(१) राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनीत वा नियुक्ति हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनु पर्नेछ ।
(२) उपधारा (१) मा उल्लिखित पद बाहेक अन्य संवैधानिक निकायको पदमा यस संविधान बमोजिम नियुक्तिको लागि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति, नेपालको अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्ति वा जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति समेत योग्य हुनेछ ।
तर नेपालको अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा कम्तीमा दश वर्ष, जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति र धारा ११ को उपधारा (६) बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा कम्तीमा पाँच वर्ष नेपालमा बसोबास गरेको हुनु पर्नेछ ।
राज्यसञ्चालनका प्रमुख पदहरुमा देशको माटोप्रति प्रतिबद्ध व्यक्ति मात्र पुग्न सकून भन्ने सदासयले संविधान निर्माताहरुले यस्तो व्यवस्था गरेको स्पष्ट बुझ्न सकिन्छ ।
१८. समानताको हकः
(१) सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन ।
(२) सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, शारीरिक अवस्था, अपांगता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन ।
(३) राज्यले नागरिकहरूका बीच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग,आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन ।
तर सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय, पिछडिएको क्षेत्र र आर्थिक रूपले विपन्न खस आर्य लगायत नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्न रोक लगाएको मानिने छैन ।
स्पष्टीकरणः यस भाग र भाग ४ को प्रयोजनका लागि “आर्थिक रूपले विपन्न” भन्नाले संघीय कानूनमा तोकिएको आयभन्दा कम आय भएको व्यक्ति सम्झनु पर्छ ।
(४) समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन ।
(५) पैतृक सम्पत्तिमा लैंगिक भेदभाव विना सबै सन्तानको समान हक हुनेछ ।
कति फरक पर्दछ ?
संविधानसभाले निर्माण गरी जारी गरेको नेपालको संविधान २०७२ ले वंशजका आधारमा नागरिकता लिएका नागरिकका सन्ततिबाहेका अन्य केही बर्गका नागरिकलाई बंशजको नागरिकता दिने सहुलियत राज्यलाई दिएको छ ।
संविधानको भाग २ मा रहेको नागरिकता सम्बन्धी व्यवस्थामा संविधान प्रारम्भ हुनुभन्दा अगाडी जन्मसिद्ध नेपाली नागरिकबाट जन्मेका सन्ततिले वंशजका आधारमा यस्तो नागरिकता पाउन सक्नेछन । त्यस्तै पितृत्व र मातृत्वको ठेगान नभएको नेपालभित्र फेला परेको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक हुनेछ भने नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजकोआधारमा नेपालको नागरिकता प्रदान गरिनेछ ।
संविधानमा नागरिकतासम्बन्धी यस्तो प्रावधान छ :
भाग–२ नागरिकता
१०. नागरिकताबाट वञ्चित नगरिनेः
(१) कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन ।
(२) नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ ।
११. नेपालको नागरिक ठहर्नेः
(१) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन् ।
(२) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवास भएको देहायको व्यक्ति वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछः–
(क) यो संविधान प्रारम्भ हुनुभन्दा अघि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति,
(ख) कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति ।
(३) यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।
(४) नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ ।
(५) नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ ।
तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून बमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ ।
(६) नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ ।
(७) यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।
तर नागरिकता प्राप्त गर्दाका बखत निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मेको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ ।
(८) यस धारामा लेखिएदेखि बाहेक नेपाल सरकारले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्रदान गर्न सक्नेछ ।
(९) नेपाल सरकारले संघीय कानून बमोजिम नेपालको सम्मानार्थ नागरिकता प्रदान गर्न सक्नेछ ।
(१०) नेपालभित्र गाभिने गरी कुनै क्षेत्र प्राप्त भएमा त्यस्तो क्षेत्रभित्र बसोबास भएको व्यक्ति संघीय कानूनको अधीनमा रही नेपालको नागरिक हुनेछ ।
१२. वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकताः
यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ ।
१३. नागरिकताको प्राप्ति, पुनःप्राप्ति र समाप्तिः
नागरिकताको प्राप्ति, पुनःप्राप्ति र समाप्ति सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।
१४. गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिनेः
विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी
नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ ।
१५. नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्थाः
नेपालको प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने तथा नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।
नेपालको उत्तरपट्टि विश्वको सर्वाधिक जनसंख्या भएको मित्रराष्ट््र चीन र दक्षिणतिर दोस्रो ठूलो जनसंख्या भएको भारत रहेको छ ।सीमावर्ती क्षेत्रमा बस्ने नेपालीहरुको बिहेबारी छिमेकी देशका नागरिकहरुसंग चल्ने भएकोले भविष्यमा विश्वका अधिक जनसंख्या भएका दुईतिरका मुलुकबाट नेपालको जनसांख्यिक बनोट प्रभावित हुन्छ कि भन्ने त्रास नेपालमा रहदै आएको छ । नागरिकताको प्राप्तीको व्यवस्था खुकुलो बनाउनु हुँदैन भन्ने मत पनि नेपालमा बलियो छ ।