सानेपा(ललितपुर), ३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाटीलाई सुदृढ गर्दै कार्यकर्ता प्रशिक्षित र परिचालित गर्ने उद्देश्यले देशका सबै जिल्ला, क्षेत्र, गाउँ/नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान घोषणा गरेको छ । यो अभियान २०७६ सालभरी तीन चरणमा सम्पन्न हुनेछ ।
हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान ‘हिपतम अभियान’ नाम दिइएको यो अभियान अन्तरगत पहिलो चरणको कार्यक्रम बैशाख ११ (लोकतन्त्र दिवस) मा प्रारम्भ भएर जेठ ११ मा समापन हुनेछ । दोस्रो चरणको कार्यक्रम भाद्र २४ वीपी जयन्तीका दिन प्रारम्भ भएर १५ दिन सञ्चालन गरी असोज ७ मा समापन गरिनेछ । तेस्रो चरणको कार्यक्रम पौष ७ मा प्रारम्भ गरि १० दिनमा पौष १६ मेलमिलाप दिवसमा समापन गरिने छ ।
कांग्रेसले प्रथम चरणको कार्यक्रमको लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर खटाउने छ । उनीहरुलाई एक महिना जिल्ला बस्न लगाईने छ र केन्द्रले निर्धारित गरेका कार्यक्रमहरु जिल्ला कार्यसमितिसंग समन्वय गरी सम्पन्न गर्न लगाइने छ ।
दोस्रो चरणमा नेपाली कांग्रेससले प्रदेश सभाका ३ सय ३० क्षेत्रमा केन्द्रीय प्रतिनिधिलाई खटाउने छ । प्रतिनिधिहरु १५ दिन सम्बन्धित क्षेत्रमा बस्ने छन र निर्धारित कार्यक्रमहरु सम्पन्न गराउने छन् ।
कांग्रेसले तेस्रो चरणमा देशमा ७ सय ५३ स्थानीय तहमा केन्द्रीय प्रतिनिधि पुग्नु हुनेछ । १० दिन सम्बन्धित क्षेत्रमा बस्नु हुनेछ । निर्धारित कार्यक्रमहरु सम्पन्न गर्नु गराउनु हुनेछ ।
सहभागिता र स्वरुप
कांग्रेसले अभियानको समयावधिभरी पार्टी केन्द्रीय समितिदेखि सबै तहका नेतृत्व र सदस्यहरुलाई सम्पूर्ण रुपले सहभागी र क्रियाशील बनाउने तयारी गरेको छ ।
यो हिपतम जागरण अभियानमा पार्टीका सम्पूर्ण भातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समितिहरु, काठमाण्डौ स्थित जिल्ला सम्पर्क समिति तथा शुभचिन्तक समेत सवैलाई सहभागी र क्रियाशील गराउने दावी कांग्रेसले गरेको छ ।
अभियानका क्रममा कांग्रेसका सबै तहको नेतृत्व र सदस्यहरुको ‘साझा र सँगठित एउटै आवाज’ आम रुपमा अभिव्यक्त हुने बताइएको छ ।
जागरण अभियानका लागि जिल्ला समिति र भ्रातृ संघ संस्थाहरुले विषय र परिस्थितिको आवश्यकता अनुरुप थप कार्यक्रमहरु राख्न सक्ने लचकता पनि नेपाली कांग्रेसले लिएको छ ।
कांग्रेसले अभियानको उद्घाटन ७७ जिल्लामा एउटै समयमा गर्ने प्रबन्ध मिलाउने भएको छ ।
कार्यक्रमको उद्घाटन राजधानी काठमाडौंमा केन्द्रीय सभापति शेरबहादुर देउवाले र अन्य ७६ जिल्लामा पार्टीले खटाउने केन्द्रीय नेतृत्व या प्रतिनिधिले गर्ने व्यवस्था मिलाइने भएको छ ।
कांग्रेसले यो महिना दिने अभियानमा भातृ र शुभेच्छुक संस्थाहरुलाई पनि आआफ्नो ढंगले संगठन परिचालन गर्न भूमिका दिएको छ । प्रकाशित कार्यक्रम अनुसार भातृ सस्थाले दोश्रो दिन १२ गते शुभेच्छुक संस्थाले तेश्रो दिन १३ गते र विदेशस्थित जन सम्पर्क समितिले अभियान प्रारम्भपछिको प्रथम या द्वितीय आइतवार अथवा शुक्रवार आफ्नो अनुकुलतामा र काठमाडौंस्थित जिल्ला सम्पर्क समितिहरुले अभियान प्रारम्भ पछिको पहिलो र दोश्रो शनिवार मध्ये अनुकुल छनौट गरी अभियानलाई सञ्चालन गर्ने स्वतन्त्रता दिइएको छ ।
कांग्रेसले जागरण अभियानका सबै उद्घाटन कार्यक्रम छरितो ढंगले सम्पन्न गर्ने भएको छ । कार्यक्रमलाई छरितो बनाउन असिमित संख्याको आसन ग्रहणको परम्परा यो अभियानसँगै अन्त्य गरिने भएको छ । उद्घाटन समारोहमा मञ्चमा सभापति, प्रमुख अतिथि अथवा प्रमुख वक्तालाई आसन ग्रहण गराइने छ र अरुलाई सामुहिक आसन ग्रहणमा बसाइने छ ।
त्यस्तै उद्घाटनको शैली पनि एकै खालको बनाइने छ । दीर्घ जीवन हुने वनस्पति (वर, पिपल, समी या यस्तै कुनै ……) मा जल सिंचन अथवा पानसमा दिप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन हुनेछ । कार्यक्रम पश्चात कुनै सुरक्षित स्थलमा त्यो विरुवाको वृक्षारोपण गरिने छ । त्यसलाई हुर्काएर जागरण अभियानको स्मृति प्रतीक बनाइने छ ।
उद्घाटन कार्यक्रममा आसन ग्रहण, ज्ञात अज्ञात शहिदप्रति मौनधारण, राष्ट्रिय गान, कांग्रेसका दिवंगत नेताहरुमा माल्र्यापण,उद्घाटन, शुभकामना मन्तव्य,सदस्यता वितरणको शुरुआत गरी विर्सजन गरिनेछ ।
कांग्रेसले जागरण अभियानसंगै अधिक मन्तव्य दिने परम्परा पनि तोड्ने भएको छ ।उद्घाटन समारोहमा एक जनाले स्वागत मन्तव्य, एक जनाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्ने छन । त्यसपछि प्रमुख अतिथिलाई बोल्न दिएुर सभापतिबाट धन्यवादसहित सभा विसर्जन गरिनेछ ।
कार्यक्रममा एकरुपता ल्याउन उद्घाटन समारोहको मुख्य व्यानर सबै ठाउँमा एउटै डिजाइनको बनाइने भएको छ ।
मञ्चमा ब्याज वितरणको प्रचलन यो अभियानसँगै अन्त्य हुनेछ । उद्घाटनमा राष्ट्रिय गानको सामुहिक प्रस्तुति रहनेछ ।उद्घाटन समारोह विसर्जनअघि प्रमुख अतिथिबाट नेपाली कांग्रेसको सदस्यता विस्तार अभियान शुभारम्भ हुनेछ। उद्घाटन समारोहको अन्त्यमा ः जिल्ला समितिको बैठकबाट निर्धारित क्षेत्रीय एवं गाउँ–नगर स्तरीय जागरण भेलाको मिति घोषणा गरिने छ ।
जागरणमा के के हुन्छ ?
जागरण अभियान अन्तरगत नेपाली कांग्रेसले पार्टीले अंगीकार गरेका निती र कार्यक्रमहरुको बारेमा जानकारी दिनेछ । सरकारले गरेका गलत कामको पर्दाफास गर्ने छ ।संगठन विस्तारको लागि सदस्यता अभियान चलाउने छ ।स्वदेश र विदेशका सबै तहमा वृहत्तर रुपले प्रशिक्षण कार्यक्रम संचालन गर्ने छ । पार्टीको ‘अभिलेख संकलन’ कार्यक्रमलाई छरितो तीव्रता दिनेछ । संघर्षकालका ऐतिहासिक घटना स्थलहरुमा पुगेर कार्यक्रम गर्नेछ ।
पार्टीका पुराना अग्रजहरुलाई घरमै पुगेर सम्मान गर्ने, स्वास्थ्य स्थिति, घरायसी स्थिति बुझेर पार्टीका लागि आवश्यक सल्लाह र सुझाव ल्याउने, संघर्षको अनेक कालखण्डमा जीवन गुमाएका शहिदहरुको परिवार भेटेर श्रद्धा प्रकट गर्ने कार्यक्रम पनि जागरण अभियानमा परेका छन् ।
कांग्रेसले भ्रातृ र शुभेच्छुक संस्थाहरुलाई आ आफ्ना वर्गीय अर्थात पेशागत मुद्दाहरुलाई पार्टीको नीति अन्तरगत रहेर मुखरित गर्न पनि सहुुलियत दिएको छ ।
भातृ संगठनको परिचालन र भूमिका
कांग्रेसले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाहरुलाई पार्टीको मुख्य कार्यक्रमहरुको मिति र समयलाई असर नपर्ने गरी अलग–अलग कार्यक्रमहरू तर्जुमा गर्ने स्वतन्त्रता दिएको छ ।
नेपाली समाजमा रहेका भिन्न मुद्दा, भिन्न विषय र भिन्न सन्दर्भहरुमा पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाहरु परिणाममुखी ढंगले परिचालित हुने विश्वास कांग्रेसले लिएको छ । विषयगत रुपले सम्बन्धित वर्ग र क्षेत्रलाई भ्रातृ–शुभेच्छुक संस्थाले समग्र विषय सुसूचित गर्ने र आगामी दिनका लागि निरन्तर सम्बाद र सहकार्यलाई घनिष्ट तुल्याउने पनि आशा गरिएको छ ।
कांग्रेसले महिला संघलाई “महिला जागरण” अन्तर्गत “नेपाली महिलाहरूको आत्मसम्मान, सुरक्षा र सशक्तिकरण” का उपयुक्त कार्यक्रम सहित सदस्यता विस्तार व्यवस्थापन र संगठन सुदृढीकरणको जिम्मेवारी दिएको छ ।
नेपाल तरुण दललाई “भ्रष्टाचारका विरुद्ध तरुण जागरण” का लागि विविध तर्जुमा गरि संगठन समेत सुदृढ पार्ने कार्यक्रम तय गर्न भनिएको छ ।
नेपाल विद्यार्थी संघलाई “विद्यार्थी जागरण ‘प्लस टु प्लस’ अभियान” अघि बढाउन प्रेरित गरिएको छ भने नेपाल ट्रेड यूनियन कांग्रेसलाई वैशाख १८ गते मे दिवसका दिनबाट देशव्यापी रुपमा जागरण अभियान थाल्ने जिम्मेवारी दिइएको छ । “श्रमिक जागरण” अन्तर्गत नेपाल ट्रेड यूनियन कांग्रेसकै परिकल्पना र नेपाली कांग्रेसको नेतृत्वको सरकारको पालामा २०७४ श्रावण ९ मा प्रतिनिधिसभामा प्रस्तुत भई पारित भएर श्रावण २९, २०७४ मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कोष’ निर्माण गर्ने ऐतिहासिक उपलव्धीलाई आम नेपाली श्रमिकका बीच प्रभावकारी ढंगले सुसूचित गर्ने तथा यसको सफल कार्यान्वयनका लागि सहयोग र दबाब भूमिका देशव्यापी रुपमा बढाउने ।
कांग्रेसले दलित संघलाई “दलित जागरण” अन्तर्गत नेपाली समाजमा रहेका सबै खाले विभेद निर्णायक ढंगले अन्त्य गराउन ‘समताका लागि सशक्तता’ अभियान चलाउने , सदस्यता विस्तार, संरचना व्यवस्थापन र महाधिवेशन तयारीका कार्यक्रम तर्जुमा गरि सञ्चालन गर्ने जिम्मा दिएको छ ।
कांग्रेसले नेपाल किसान संघलाई ‘किसान जागरण’ कार्यक्रम अन्तरगत सदस्यता विस्तार, संरचना व्यवस्थापन, महाधिवेशन एवं किसान हकहितका मुद्दा केन्द्रीत छलफल र वहसका कार्यक्रम सञ्चालन गर्न र नेपाली कांग्रेसले विगतमा किसानहरुको हितमा गरेका कार्यहरु मल, बीउविजन र सिंचाईको क्षेत्रमा गरेको प्रगति किसानहरुमार्फत घरघरमा पुर्याउने कार्यक्रम तर्जुमा गरि सञ्चालन गर्न जिम्मेवारी दिएको छ ।
कांग्रेसले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघलाई वर्तमान सरकारले कटौती गरेका अपाङ्गता भएकाहरुको अधिकार पुनस्र्थापित गर्न आफ्नो समुदायलाई सुसूचित गर्दै दवावको भूमिका बढाउने कार्यक्रम सञ्चालन गर्न लगाएको छ ।
जागरण कार्यक्रम अन्तरगत कांग्रेसले नेपाल प्रजातन्त्र सेनानी संघलाई संगठनात्मक संरचनामा प्रभावकारी बनाउदै संगठनलाई सुदृढ गर्न पछिल्लो पुस्तालाई लोकतन्त्रका प्रतिप्रतिबद्ध बनाउन प्रेरणादायी कार्यक्रमसहितको ‘सेनानी जागरण’ सञ्चालन गर्न जिम्मा दिएको छ ।
त्यस्तै नेपाल शिक्षक संघलाई सबै तहका शिक्षकहरुका समस्याहरु समाधान गर्न छलफल, भेला, अन्तरक्रिया आयोजना गर्दै ‘शिक्षक जागरण अभियान’ मार्फत शैक्षिक क्षेत्रको अनेक विसंगति अन्त्य गर्न शिक्षक, विद्यार्थी र अभिभावक समेत सँग वृहत्तर ढंगले सहकार्य अघि बढाउने कार्यक्रम सञ्चालन गर्न जिम्मेवारी दिइएको छ ।
कांग्रेसले देशभरि छरिएर रहेका भूतपूर्व सैनिकलाई आबद्ध गर्दैसदस्यता विस्तार र संगठन सुदृढीकरण गरेर ‘भूपू सैनिक जागरण’ बढाउन भूतपूर्व सैनिक संघलाई जिम्मा दिएको छ । यस क्रममा भूपू सैनिकहरुको भेला, कल्याणकारी कार्यक्रम, सीप विकासका कार्यक्रम सहित तथ्याङ्क संकलन, अभिलेखीकरण, अग्रज भूपू सैनिकहरुलाई सम्मान कार्यक्रम आयोजना गर्नेछ ।
जागर कार्यक्रम अन्तरगत नेपाल आदिवासी जनजाति संघले ‘पहिचान भेटिने, द्वन्द मेटिने’ नेपाली कांग्रेसको अवधारणालाई जनताकाबीचमा पुर्याउने विश्वास कांग्रेसले लिएको छ । आदिवासी र जनजातिको पहुँच, प्रतिष्ठा र प्रतिनिधित्वको प्रश्नमा नेपाली कांग्रेसले विगतमा गरेका महत्वपूर्ण कार्यहरु आम नागरिकपंक्तिमा व्यापक ढंगले सम्प्रेषण गरिनेछ ।
जागरण अभियानका मुद्दाहरु आफ्नो समुदायमा व्यापक रुपले सम्प्रेषण गर्दै भेला, छलफल, गठन, पुनर्गठन गर्दै सघलाई महाधिवेशनतर्फ लैजाने विश्वास कांग्रेसले लिएको छ ।
कांग्रेसले मुस्लिम संघ, नेपाल सदस्यता, विस्तार, संरचनाहरुको सुदृढीकरण, भेला, छलफल र जागरणका मुद्दाहरु आफ्नो समुदायमा व्यापक रुपले गर्न लगाउने भएको छ ।

लोकतन्त्रवादी कलाकार र कलाकर्मीहरुलाई संगठित गरेको नेपाल सांस्कृतिक संघलाई कांग्रेसले ‘सांस्कृतिक जागरण’ मार्फत अगाडि बढाउने कार्यक्रम तर्जुमा गरि सञ्चालन गर्न जिम्मा दिएको छ । संघले सांस्कृतिक क्षेत्रका पुराना अग्रज स्रष्टाहरुको सम्मान कार्यक्रम, संरचना विस्तार, सदस्यता विस्तार, सांस्कृतिक कर्मीहरुको हित केन्द्रीत छलफल र जागरण अभियानलाई बल पुग्ने गरी सांस्कृतिक प्रस्तुति विभिन्न तहमा प्रस्तुत गर्ने÷गराउनेछ ।
विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेसले आन्तरिक व्यवस्थापन, सदस्यता विस्तार, जागरण सम्बन्धी मुद्दा केन्द्रीत प्रचार र मतदानको प्रबन्ध मिलाउन सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्न नेपाली नियोगहरु मार्फत नेपाल सरकारलाई दबाब दिन आम एक्यवद्धता निर्माण गर्न जिम्मा दिएको छ ।
काठमाडौंमा रहेका जिल्ला सम्पर्क समितिहरुहरुलाई राजधानीमा बसोबास गर्ने सम्बन्धित जिल्लाका नागरिकहरूकाबीच सदस्यता विस्तार, भेला, आवश्यक संयन्त्रहरुको गठन, जागरणका मुद्दाहरूको प्रचार र सम्पर्क समितिको सम्मेलन कार्यमा कांग्रेसले सक्रिय गराउने भएको छ ।
नेपाल राष्ट्रिय मगर संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल लोकतान्त्रिक शेर्पा संघ, लोकतान्त्रिक नेवाः खल, नेपाल कुमाल संघ जस्ता समुदाय केन्द्रीत संघ संस्थालाई नेपाली कांग्रेसले आफ्नो संस्थाको पहिचान झल्कने गरी जागरण अभियानको नामाकरण गर्ने र मुख्य मुद्दाहरुका अतिक्ति आफ्नो समुदायको वृहत्तर हितका अवधारणाहरु समुदाय र आम नागरिकमा सम्प्रेषित गर्ने सहुलियत दिएको छ । यसमा सदस्यता विस्तार, संरचना व्यवस्थापन, भेला, छलफलका कार्यक्रम सञ्चालन हुनेछन् ।
पार्टीको शुभचिन्तक पेशागत संघहरुले पार्टीका लागि विगतदेखि नै महत्वपूर्ण वौद्धिक साथ र विविध सहजीकरणको कार्य गर्दै आएको बताउदै नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानका क्रममा ती संस्थाहरुले आफ्नो पंक्तिलाई वैचारिक ढंगले ऐक्यवद्ध गराउनुका साथै उपयुक्तता अनुरुप सम्मान, सदस्यता र व्यवस्थापनको कार्य गर्ने विश्वास लिएको छ ।
स्थानीय तहमा कांग्रेस
जागरण अभियानमा स्थानीय तहलाई संलग्न गराउन पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा विजयी साथीहरुसँग पार्टीको चुनावी घोषणापत्र र नागरिकको अपेक्षा अनुरूपका काम के–कस्तो रुपमा भएका छन् समिक्षा कार्यक्रम गर्ने र गरेका कामका बारेमा प्रचारप्रसार गर्ने, पार्टीका तर्फबाट विभिन्न तहमा विजयी या उम्मेदवार र पार्टीको सम्वन्धित तहको कार्यसमितिका बीच मासिक नियमित वैठकको प्रारम्भका लागि प्रथम बैठक आयोजना गर्ने,पार्टी प्रतिपक्षमा रहेको स्थानीय तहमा उम्मेदवारहरूबाट प्रखर प्रतिपक्षी भूमिका निभाउन आवश्यक एकता र दृष्टिकोण निर्माण गर्ने तथा स्थानीय तहको पार्टी र भातृ–शुभेच्छुक संस्थाको सम्वन्ध सुदृढ गर्दै आन्तरिक व्यवस्थापन गर्न आवश्यक दृष्टिकोण र कार्यक्रम तय गर्ने विवरण नेपाली कांग्रेसले सार्वजनिक गरेको छ ।
आवश्यकता अनुरुप कार्यक्रमहरूमा थपघट र परिमार्जन पार्टी केन्द्रीय कार्यालयले गर्नेछ । केन्द्रीय प्रतिनिधिले पालना गर्ने आचार संहिता र निर्वाह गर्नु पर्ने दायित्व बारे अलग पत्र केन्द्रीय प्रतिनिधिलाई उपलब्ध गराइएको छ । केन्द्रीय प्रतिनिधिहरुलाई सहयोग गरेर जागरण अभियानका सम्पूर्ण कार्यक्रम सम्पन्न गर्नु पार्टीका सम्बन्धित समितिहरुको दायित्व हुनेछ ।

























