Prakash Adhikari January 1, 2018

काठमाडौं, १६ पौष । ४२ औं राष्ट्र्यि मेलमिलाप दिवसको उपलक्ष्यमा देशका विभिन्न भागमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेताहरुले पार्टीलाई सबल र सशक्त बनाएर नेपालको वर्तमान र भविष्यका चुनौति सामना गर्न सक्षम बनाउन पर्नेमा जोड दिएका छन् ।

नेपाल विद्यार्थी संघले काठमाडौंको सभागृहमा आयोजना गरेको कार्यक्रममा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी हालै सम्पन्न तीनै तहका निर्वाचनमा लोकप्रिय मतमा राम्रो स्थानमा रहे पनि समग्र चुनावी परिणाम पार्टीको पक्षमा आउन नसकेको बताए ।

उनले पार्टीलाई एकताबद्ध,अनुशासित,मर्यादित र सशक्त बनाउनुको विकल्प नरहेको र पार्टीको सशक्तिकरण अभियानलाई सबैले साथ दिनुपर्ने बताए ।

उनले निर्वाचन मतदाताको आकांक्षाको संबोधन र केही व्यवस्थापकीय पक्षसंग पनि सम्बन्धित भएकोले त्यसमा पार्टीले आगामी दिनमा ध्यान दिने बताए । सभापति देउवाल चुनावी परीणामलार्इ लिएर निराश नहुन युवाहरूलार्इ आग्रह गरे । ‘कांग्रेस हारेको छैन, तपाई युवाहरु किन निराश हुनुभएको ?’ उनले भने, ‘म बुढो त निराश भएको छैन, तपाईंहरु किन निराश हुने ?’

उनले अब पार्टीमा अनुशासनसहित मेलमिलाप चाहिएको बताए ।
शशांकको ध्यान पार्टी सुदृढीकरण

नेपाली कांग्रेस कास्कीले पोखरामा आइतबार आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले अब पार्टीको संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

‘बिपीले बनाएको कांग्रेस संगठन धेरै तल झरिसकेछ,’ कोइरालाले भने, ‘हामीले हाम्रै संगठनलाई पूर्ण क्षमतामा परिचालन गर्न सकेनौं । हालैका निर्वाचनको नतिजा त्यसैको परिणाम हो ।’उनले आफ्नो पहिलो उद्देश्य कांग्रेसलाई पुनः एक नम्बर पार्टी बनाउने रहेको बताए ।

कोइरालाले हप्ता दश दिनमै केन्द्रीय समितिले चुनावी समीक्षा गर्न वैठक डाक्ने बताएका छन् । ‘म आफैंले अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई समीक्षा बैठक बोलाउनुस् भनेको छु,’ कोइरालाले भने, ‘सायद हप्ता १० दिनमै समीक्षा बैठक बस्छ र हामीले एउटा रणनीति बनाउँछौं ।’

कांग्रेसले सिट संख्याका आधारमा हारेकोजस्तो देखिए पनि कांग्रेस कहिल्यै नहार्ने महामन्त्री कोइरालाको दाबी छ । संगठनलाई मजबुत बजाउन नसक्नु, रणनीति तयार गर्न नसक्नु, प्रत्यक्ष टिकट वितरण र समानुपातिकमा पनि गलत भएका कारण कांग्रेसले हार ब्यहोरेको उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस नेता शुक्राराज शर्मा, माधव बास्तोला, देवराज चालिसे नेतृ शारदा पौड, पुराना नेता खेमराज पौडेलले पनि नेतृत्वले बेलैमा सोच्ने बेला आएको बताए ।

त्रिचन्द्रमा गर्जिए सिंह मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला समितिले त्रिचन्त्र क्याम्पसमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् । १३ औं महाधिवेशन भएको दुई वर्ष भइसक्दा समेत देउवाले केन्द्रीय पदाधिकारी र विभागहरूलाई पूर्णता दिन नसकेको भन्दै सिंहले आलोचना गरेका हुन् ।

कार्यक्रममा नेता सिंहले सभापति देउवाले दुई महिनामा गर्नुपर्ने काम अहिलेसम्म गर्न नसकेको बताए ।

‘१३ औं महाधिवेशन सम्पन्न भएको दुई वर्ष भइसक्यो,’ उनले भने, ‘सभापतिज्यूले उपसभापति र महामन्त्री मनोनित गर्न सक्नु भएन । विभागहरूले पूर्णता पाउन सकेको छैन । उहाँले कांग्रेसलाई फङ्सनमा लैजान सक्नुभएन ।’

कांग्रेसमा सुधारको आवश्यकता रहेको उनले बताए नेता सिंहले भने, ‘नेतृत्वको गुणगान गाउँदैमा कांग्रेसमा सुधार हुँदैन । कांग्रेस बिरामी भएको छ । थलिएको छ । सुधारको आवश्यक्ता छ । हामी आफैले कांग्रेसलाई सुधार गर्नुपर्छ ।’

उनले कांग्रेसलाई बलियो बनाउनका लागि विधान र नियमअनुसार पार्टी चलाउन नेतृत्वलाई सुझाव दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले राष्ट्रियताको माया गरेर २०३३ सालमा स्वदेश फर्किएका नेताको पार्टीलाई राष्ट्रियताको चर्को नारा लगाएर अरु दलले निर्वाचनमा हराउनु दुःखद कुरा भएको बताए ।

अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब कांग्रेसभित्र पुनर्जागरणको खाँचो औंल्याए ।

कार्यक्रममा नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण, नेता दीपक भट्टराईलगायतले नेतृत्वको कार्यशैलीका कारण पार्टी र नेविसंघ कमजोर हुँदै गएको भन्दै आलोचना गरेका थिए ।

मेलमिलाप दिवसकै अवसरमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ बाट प्रदेशसभाका प्रत्यासी बनेका लोकेश ढकालले बत्तिसपुतलीको अनुपम पार्टी प्यालेसमा चियापान समारोहको आयोजना गरे ।

मन्तव्यको कार्यक्रम नै नराखिएको सो कार्यक्रममा नेपाली कांग्रेस र यसका भातृ संगठनका नेता,कार्यकर्तासहित शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् काठमाडौं क्षेत्र नं २ बाट विजयी सांसद माधवकुमार नेपाल पनि उपस्थित थिए ।

प्रवासमा रहेर लोकतन्त्रको लडाई लड्नुभन्दा आफ्ना विचार, कार्यक्रम र सिद्धान्तलाई जनताका बीचमा लगेर राजनीति गर्ने ध्येयले २०३३ सालमा राष्ट्र्यि मेलमिलापको नीति लिएर वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई लगायतका नेपाली कांग्रेसका नेताहरु पञ्चायती व्यवस्थाले लगाएका संगीन मुद्दाहरुको पर्वाह नगरी प्रवासबाट स्वदेश फर्कनुभएको थियो ।

मेलमिलापको नीतिले ३ बर्ष नपुग्दै देशमा जनमत संग्रहको घोषणा गर्नुपर्ने अवस्था सिर्जना गर्यो । परिणामा बहुदलीय संसदीय व्यवस्थाको पक्षमा नआएपनि त्यसपूर्व निर्विकल्प मानिएको पञ्चायत धराशायी भएको जनमतले प्रमाणित गरेको थियो । त्यसको १० बर्षमा त नेपालमा बहुदलीय व्यवस्थाको पुनस्थापना नै भयो ।

Share Now

Leave a comment.