Prakash Adhikari January 1, 2018

काठमाडौं, १७ पौष । नेपाल वायु सेवा निगमले खरिद गर्न लागेका ३३०-२०० सेरिजका एअरबसका दुईवटा वाइड बडी विमानको आपूर्तिका लागि निगमले पठाएको पहिलो किस्ता रकम भुक्तानीको रसिद निगमले अझै प्राप्त गरेको छैन् ।

निगमले यूरोपको नर्टनरोज फुलब्राइटको स्कर्ट एकाउण्टमा पठाएको थियो ।

यो एकाउण्ट जहाज निर्माता एअरबसको पनि होइन, आपूर्ति कर्ता एएआर कर्पको पनि होइन न त आपूर्तिमा आबद्धता जनाएका जर्मन एभियसन क्यापिटल र हाई फ्लाई एअरलाइन्स कै हो । निगमको उच्चस्रोतले दिएको जानकारी अनुसार यो खाता आयरल्याण्डमा खोलिएको छ, जसलाई ट्याक्स हेभेन भनिन्छ । निगमका तर्फबाट गरिएको भुक्तानीमा कमिशन संकलन गर्नका लागि उत्पादक, आपूर्तिकर्ता र क्रेता कम्पनी रहेका मुलुकबाहिरको खाता प्रयोग गरिएको हो ।

२०१६ को सेप्टेम्बर २४ मा ४५ दिनको समयावधि दिएर गरिएको टेण्डरमा सहभागी भएकामध्ये निगमको व्यवस्थापनले उपयुक्त ठहर्याएको जर्मन एभियसन क्यापिटल कर्पोरेशन र हाई फ्लाई एअरलाइन्ससंग आबद्ध भएर प्रस्ताव पेश गरेको अमेरिकाको एएआर कर्पसंग २०१७ को जनवरी २७ मा सम्पन्न भएको समझदारी पत्रमा भने पहिलो विमान सेप्टेम्बर र दोस्रो विमान २०१८ को मार्च महिनामा आउने ब्यहोरा उल्लेख गरिएको थियो । विमान आउने बेलासम्म रकम पठाएको र प्राप्त भएको जानकारी समेत नआएकोले निगमका उच्च पदाधिकारीहरु झण्डै २१ अर्ब रुपैयाको विमान खरिदमा ठूलो घोटाला भएको र बद्नियतपूर्ण ढंगले श्रृखलाबद्ध रुपमा थुप्रै अनियमितता गरिएको दाबी गरिरहेका छन् ।

साँघुरा आकारका एअरबस ३२० —२०० सेरिजका विमान खरिद गर्ने समयमा प्रक्रिया मिचेर अख्तियारको दुरुपयोग गरेको आरोपमा जेलसमेत परेका तात्कालिन कार्यकारी अध्यक्ष तथा हालका महाप्रबन्धक कंशाकारले त्यसबेला खान नपाएको कमिशन समेत वर्तमान खरीद प्रक्रियाबाट उठाउने ढंगले आशयपत्र माग गरी खरिद प्रक्रिया अगाडि बढाएको बताइन्छ ।

एअरबसका साँघुरा आकारका ३२०—२०० सेरिजका विमान किन्ने बेलामा उत्पादक कम्पनी एअरबससंगै किन्दा विचमा एजेन्टले कमिशन खाने संभावना हँुदैन भनेर तर्क गर्ने निगमका यिनै सुगतरत्न अहिलेको खरिदमा नयाँ तर्क लिएर देखा परे “ निर्माता कम्पनीसंग बोलपत्र माग गर्दा छनौट, अर्डर र निर्माण तथा डेलिभरी प्रक्रियामा विलम्ब हुने भएकोले एजेन्टहरुमार्फत तयारी अवस्थाका वा उडानमा रहेका सेकेण्ड ह्याण्ड विमान किन्न उपयुक्त हुन्छ ”भन्ने । आशय पत्र माग गर्दा १००० घण्टा उडान भएको एअरबसको ३३०—२०० सेरिजको विमान माग गरियो ।

विमानको ब्राण्डमा समेत खुला प्रतिस्पर्धा गर्ने मौका दिइएन । वाइड बडीको बोइङ्का उत्पादक, वितरक वा एजेण्टलाई भाग लिने अवस्थाबाटै बञ्चित गरियो ।

एएआर कर्पोरेशन जहाज निर्माता र सञ्चालक कम्पनी नभएर जहाज खरिद विक्री वा भाडामा मिलाउने ब्रोकर एजेन्सी हो । यसले पोर्चुगलको हवाईसेवा सञ्चालक हाई फ्लाईसंग आबद्ध भएर प्रस्ताव पेश गर्नुको कारण हाई फ्लाईले अर्डर गरी क्यान्सिल गरेको विमान नेपाललाई मिलाउने प्रपञ्चका लागिसम्म हो भन्ने बुझिन्छ तर जर्मन एभिएसन क्यापिटल कर्पोरेशनसंगको आवद्धता उसले पेश गरेको बोलपत्रमा स्पष्ट छैन ।

२१ अर्ब रुपैयाका विमान खरीद प्रकरणमा यसको रहस्य अझै खुल्न बाँकी छ ।

Share Now

Leave a comment.