कोलम्बो(श्रीलंका),८ बैशाख(बीबीसी)। श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा दुई सय जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
श्रीलङ्का प्रहरीका प्रवक्ताका अनुसार अहिलेसम्म २०७ जनाको मृत्यु भएको पुष्टि भएको छ।
आइतवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा कम्तीमा छवटा विस्फोटन भएका थिए। त्यसपछि थप दुई स्थानमा विस्फोटन भए।
सबै घटनामा ५ सयभन्दा बढी व्यक्तिहरू घाइते भएको बताइएको छ।
समाचारसंस्था एएफपीका अनुसार घटनामा परेर कम्तीमा ३५ जना विदेशीको मृत्यु भएको छ।
यसअघि श्रीलङ्काको प्रधानमन्त्री कार्यालयले १६० जनाको मृत्यु भएको पुष्टि गर्दा तीमध्ये नौ जना विदेशी रहेको बताएको थियो।
कर्फ्यू र पक्राउ
बीबीसी संवाददाता अज्जाम अमीनका अनुसार विभिन्न स्थानबाट घटनामा संलग्न भएको आशङ्कामा सात जनालाई पक्राउ गरिएको छ।
07 suspects arrested in connection with today's coordinated bombings in Colombo, Negombo & Batticaloa. Govt has now confirmed most of the blasts were suicide bomb attacks most probably carried out by 01 group: State Minister for Defence Ruwan Wijewardena via @tingilye
— Azzam Ameen (@AzzamAmeen) April 21, 2019
रक्षामन्त्रीलाई उद्धृत गर्दै उनले अधिकांश घटनाहरू आत्मघाती आक्रमण भएका र ती सबै एउटा समूहले गराएको जनाएका छन्।
सुरक्षाकर्मीहरूले केही स्थानमा छापा मारेका छन्।
घटनापछि श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका थिए।
उनले फेरि आक्रमण हुन नदिन र विस्फोटन कसले गराएको हो त्यो पत्ता लगाउन सुरक्षाकर्मीहरूलाई परिचालित गरिएको बताए।
श्रीलङ्कामा देशभरि नै लागु हुनेगरी आइतवार साँझ छ बजेदेखि सोमवार बिहान छ बजेसम्म कर्फ्यू लगाइएको छ।
कहाँ भयो विस्फोटन?
विस्फोटन हुँदा इसाई धर्मावलम्बीहरू कोच्चिकाडे, बट्टिकलोआ र कटुवापिटिया जिल्लामा रहेका गिर्जाघरमामा इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुँदैथिए।

सयौँ मानिसहरू प्रार्थना गर्न भेला भएको बेला गिर्जाघरहरूमा विस्फोटन भएको थियो
मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएका थिए।
पछि देहिवाडाको एउटा सानो होटलमा पनि विस्फोटन भएको र त्यहाँ दुई प्रहरीको मृत्यु भएको बताइएको छ।
आठौँ विस्फोटन भने डेमाटागोडामा भएको थियो।
समाचारसंस्था एफएफपीका अनुसार सो घटना आत्मघाती आक्रमण थियो र त्यसमा परेर तीन प्रहरीको पनि मृत्यु भयो।

श्रीलङ्काका एक वरिष्ठ पादरीले घटनापछि आइतवार साँझको प्रार्थनाका कार्यक्रम स्थगित गरिएको बताएका छन्।
प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले घटनाको निन्दा गर्दै सबैलाई शान्त रहन आग्रह गरेका छन्।
I strongly condemn the cowardly attacks on our people today. I call upon all Sri Lankans during this tragic time to remain united and strong. Please avoid propagating unverified reports and speculation. The government is taking immediate steps to contain this situation.
— Ranil Wickremesinghe (@RW_SRILANKA) April 21, 2019
"At least 26 dead bodies are inside Kochchikade Church according to the Police, We are shocked, PM is charing an emergency meeting" Minister Mano Ganeshan after visiting ST.Anthony's church in Kochchikade, Colombo pic.twitter.com/eHZ5Di0LyE
— Azzam Ameen (@AzzamAmeen) April 21, 2019
Several explosions reported around the country including Kochchikade & Katana churches & five star hotels in Colombo
— Azzam Ameen (@AzzamAmeen) April 21, 2019
Easter Sunday bomb blasts in churches & hotels, killing many innocent people seems to be a well coordinated attempt to create murder,mayhem & anarchy.All those who cherish democracy,freedom & economic prosperity must unite now with nerves of steel to defeat this heinous attempt.
— Mangala Samaraweera (@MangalaLK) April 21, 2019
श्रीलङ्काका अर्थमन्त्री मङ्गल समरवीरले निर्दोष मानिसहरूको ज्यान लिँदै अराजकता सिर्जना गराउने प्रयासस्वरूप ती विस्फोटन गराइएको भन्दै प्रजातन्त्र, स्वतन्त्रता र आर्थिक समृद्धि चाहने सबैलाई एकजुट हुन आग्रह गरेका छन्।
कसले गरायो विस्फोटन?
अहिलेसम्म आक्रमणको जिम्मा कसैले लिएको छैन।
तर श्रीलङ्काका रक्षामन्त्री रुवान विजेवर्दनेले यस घटनालाई “आतङ्ककारी घटना” भन्दै दोषी चिनिसकिएको बताएका छन्।

उनले घटनाबारे गुप्तचर निकाय, प्रहरी र सेनाले अनुसन्धान गरिरहेको भन्दै देशमा सञ्चालित कुनै पनि अतिवादी समूहविरुद्ध कारबाही गर्ने घोषणा पनि गरेका छन्।
“हामी आवश्यक कारबाही गर्छौँ। उनीहरू जुनसुकै धार्मिक अतिवादमा लागेका भए पनि हामी छौड्दैनौँ।”
“यो घटनाका दोषीहरूलाई यथाशीघ्र समातिनेछ। उनीहरूलाई चिनिसकिएको छ।”
कस्तो छ सुरक्षा?
सरकारले विस्फोटनपछि विमानस्थल र अन्य संवेदनशील स्थानहरूमा सुरक्षाव्यवस्था बढाएको छ।
कर्फ्यू घोषणा गर्नुअघि नै सरकारले दुई दिन सरकारी विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा ती विस्फोटनहरू भएका हुन्।
प्रत्येक वर्ष एप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्व मनाइन्छ।

श्रीलङ्काको वर्तमान इतिहास
सन् २००९ मा गृहयुद्ध समाप्त भएपछि श्रीलङ्कामा केही छिटपुट हिंसाका घटनाहरू हुने गरेका थिए।
त्यहाँको बहुसङ्ख्यक बौद्ध सिन्हला समुदायका मानिसहरूले मस्जिदहरू र मुस्लिमहरूको स्वामित्व रहेका सम्पत्तिमा आक्रमण गर्ने गरेका थिए।
बौद्ध र मुस्लिम समुदाबीच हिंसा चर्किँदा गत वर्ष मार्चमा त्यहाँ राष्ट्रिय सङ्कटकाल घोषणा भएको थियो।
अल्पसङ्ख्यक तमिलहरूका लागि छुट्टै राज्य माग गर्दै २६ वर्ष युद्ध गरेको तमिल टाइगर्सलाई सरकारी फौजले हराएपछि त्यहाँको गृहयुद्ध सकिएको थियो। उक्त गृहयुद्धमा ७० देखि ८० हजार मानिसहरू मारिएको ठानिन्छ।
श्रीलङ्कामा धर्म
श्रीलङ्काको मुख्य धर्म थेरावादी बौद्ध धर्म हो।
पछिल्लो जनगणनाका अनुसार देशमा उक्त धर्म मान्नेहरू ७०.२ प्रतिशत छन्।

बहुसङ्ख्यक सिन्हला समुदायले बौद्ध धर्म मान्छ।
देशको कानुनमा पनि उनीहरूलाई प्राथमिकता दिइएको छ र संविधानमा पनि विशेषाधिकार दिइएको छ।
श्रीलङ्कामा १२.६ प्रतिशत हिन्दू र ९.७ प्रतिशत मुस्लिम जनसङ्ख्या रहेको छ।
सन् २०१२ को जनगणना अनुसार त्यहाँ करिब १५ लाख पसाईहरू रहेका छन्। त्यसमध्ये अधिकांश रोमन क्याथोलिक सम्प्रदायका हुन्।


















