यांगून(म्यानमार),१७ बैशाख । एएफसी यु–१९ महिला च्याम्पियनसीप छनौटको दोस्रो चरणतर्फ आफ्नो अन्तिम खेलमा नेपाल आज आयोजक म्यानमारसंग खेल्दैछ ।
लगातार दुई खेलमा निरिह प्रदर्शन गरेको नेपालका लागि आजको खेल प्रतिष्ठासँग पनि जोडिएको छ । म्यानमार विरुद्ध आज नेपालले जितेमा उच्च मनोबलका साथ नेपालटी टोली स्वदेश फर्कन पाउनेछ ।
आफ्नो पहिलो खेलमा अष्ट्रेलियासँग ११–१ को अन्तरले हार बेहोरेको नेपाल दोस्रो खेलमा उज्बेकिस्तानसँग पनि ४–० ले पराजित भएको थियो ।
म्यानमारले आफ्नो पहिलो खेलमा उज्बेकिस्तानलाई १–० ले हराएको र दोस्रो खेलमा अष्ट्रेलियासँग ३–१ ले पराजित भएकोले फुटबलमा म्यानमार नेपालभन्दा माथि नै रहेको देखिन्छ ।
खेल नेपाली समयअनुसार ६ ः१५ बजे शुरु हुने छ ।
आजको खेलमा राम्रो गोल अन्तरले जित निकाले म्यानमार प्रतियोगिताको अन्तिम चरणका लागि छनौट हुन सक्नेछ ।
छनौट प्रतियोगिता अन्तरगत आज नै अष्ट्रेलिया र उज्बेकिस्तान पनि भिड्दै छन् ।
समूहको शीर्ष दुई टोली अन्तिम चरणका लागि छनौट हुनेछन् ।