Prakash Adhikari May 4, 2019

सुरेन्द्र फुयाल / बीबीसी नेपाली सेवा
.
काठमाडौ,२१ बैशाख(बीबीसी) । ३४ आरोहीहरू र तिनका सहयोगीहरू रहेको कञ्चनजङ्घा आधार शिविरबाट ताजा विवरण आइसकेको छैन तर फानी आँधीको प्रभाव देखिएपछि सम्भवत: सबैभन्दा धेरै क्षति सर्वाधिक आरोहीहरू रहेको सगरमाथाको माथिल्ला शिविरहरूमा परेको प्रारम्भिक आकलन त्यहाँ रहेका एक अधिकारीले गरेका छन्।

भारतको पूर्वी तटीय राज्य ओडिशामा शुक्रवार समुद्री आँधी फानी सक्रिय भएपछि पूर्वी नेपालमा हल्का तथा मध्यम वर्षा भएको थियो भने सगरमाथा र कञ्चनजङ्घा जस्ता हिमाली भेगमा हावाहुरी र हिमपात भएको थियो।

शुक्रवारको आँधी हुरीले गर्दा सगरमाथा आरोहणको क्रममा दोस्रो (६,५०० मिटर) र तेस्रो शिविरमा ठड्याइएका लगभग १०० त्रिपालहरूमा क्षति पुगेको नेपालको पहिलो सगरमाथा उचाइ मापन आयोजनाका क्रममा सगरमाथा आधार शिविरमा रहेका प्रमुख नापी अधिकृत खिमलाल गौतमले बीबीसीलाई बताए।

उनले भने, “हावाहुरीले गर्दा दुवै शिविरमा गरेर सय वटा जति पालहरू उडाएको छ। हाम्रो खाना राख्ने र खाने पालहरू पनि उडाएको छ। केही पाल त फेरि प्रयोग गर्नै नमिल्ने गरी क्षतिग्रस्त हुन पुगेका छन्।”

के कति क्षति भयो?

क्षति
उनको अनुमानमा शुक्रवारको हावाहुरीका कारण सगरमाथामा माथिल्ला शिविरमा पाल उडाउँदा वा नष्ट हुँदा दशौँ लाख रुपैयाँ बराबरको क्षति हुन पुगेको छ।

उनका अनुसार अब “ती पालका स्थानमा नयाँ पाल लैजानु पर्ने हुन्छ। खानेकुरा र अन्य सामान पनि नयाँ लैजानु पर्छ।” त्यसपछि मात्रै आरोहणका कार्यक्रमहरू अगाडि बढ्छन्।

यो वसन्त ऋतुमा ३७७ आरोहीहरूले सगरमाथा चढ्ने अनुमति लिइसकेका छन्। नुप्से, लोत्से र पुमोरी हिमाल आरोहीहरू समेत गरेर सगरमाथा आधार शिविरमा अहिले करिब ५०० आरोहीहरू रहेका छन्।

तीनका सहयोगीहरू समेत गरेर त्यहाँ अहिले करिब २ हजार जति मानिसहरू पालमा बसिरहेका छन्।

बाक्लो हिमपात

बाक्लो हिमपात
शनिवार दिउसोसम्म भारी हिमपात भइरहेको सगरमाथा आधार शिविरदेखि माथि पनि केही शेर्पा आरोहीहरू रहेको गौतम र अर्का एक आरोहीले बताए।

समुद्री आँधी फानीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने मौसम भविष्यवाणी भएलगत्तै पर्यटन विभागले हिमाली क्षेत्रमा रहेका सबै आरोही र तिनीहरूका सहयोगीहरूलाई “सुरक्षित रहन र सुरक्षाको प्रबन्ध मिलाउन” सचेत गराएको थियो।

सरकारले शुक्रवारदेखि पूर्वी पहाडी र हिमाली क्षेत्रमा हेलिकोप्टर उडान समेत बन्द गर्न निर्देशन दिएको थियो।

सगरमाथा आधार शिविरमा रहेका पर्वतारोहण व्यवसायी एवं आरोही फुर्वा तेन्जिङ शेर्पाले बीबीसीसँग भने, “करिब एक फिट बाक्लो हिउँ परेको छ। हुस्सु लागेको छ।

“मौसम राम्रो नभएकोले हेलिकोप्टरहरू उडेको छैनन्। माथिल्लो शिविरबाट शेर्पाहरू तल झर्ने प्रयास गरिरहेका छन्।”

शनिवार साँझ पर्नै लाग्दा त्यहाँको मौसम पनि सफा हुन थालेका तस्बिर आधार शिविरमा रहेका पर्वतारोहीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

नेपाली पर्वतारोही दावा स्टिभन शेर्पाले आधार शिविरमा सबै सुरक्षित रहेको र मौसम सफा हुन थालेको आफ्नो फेसबुक सन्देशमा उल्लेख गरेका छन्।

https://www.facebook.com/dawasteven/posts/10161557275095244

मौसम भविष्यवाणी कस्तो छ?
आँधीको मार्ग
नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको ओडिशामा शुक्रवार बिहान बज्रिएको समुद्री आँधीको केही प्रभाव हिमाली क्षेत्रसम्मै देखिएपनि अब त्यो नेपालमा कमजोर हुने क्रममा रहेको छ।

विभागका एक मौसमविद् समीर श्रेष्ठले बीबीसीसँग भने, “फानी आँधी अहिले धेरै नै कमजोर भइसकेको छ। त्यो अहिले न्यून चापीय क्षेत्रमा घटिसकेको छ। पूर्वी नेपालका केही बदली भएपनि बाँकी भागमा मौसम खुलिरहेको छ।”

विभागका अनुसार शनिवारसम्ममा फानी आँधी कमजोर भएर उत्तर पश्चिम कोलकाता पुगेको छ र त्यो प्रणाली अझै कमजोर हुने क्रममा छ|

आँधीको बाँकी प्रभावका कारण पूर्वी नेपालका केही स्थानमा “हल्का देखि मध्यम वर्षा” र हिमाली क्षेत्रमा पनि “हल्कादेखि मध्यम हिमपातको” सम्भावना रहेको विभागले जनाएको छ।

मौसम विभागका अनुसार नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ र त्यसैले “अपरान्ह पश्चात केहि स्थानहरुमा मेघ गर्जन चट्याङ तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

शनिवार रातिपछि भने मौमसमा बिस्तारै सुधार हुने अनुमान छ।

Share Now

Leave a comment.