Prakash Adhikari May 7, 2019

 

नयाँदिल्ली(भारत),२४ बैशाख(बीबीसी) । भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईले उनीमाथि लागेको यौन दुर्व्यवहारको आरोपमा सफाइ पाएका छन्।

न्यायाधीशहरूको तीन सदस्यीय छानबिन समितिले आरोपहरूमा कुनै सत्यता नभएको ठहर गरेको हो।

प्रधानन्यायाधीश गोगोईले यसअघि आरोपहरू झूटो भएको बताउँदै आएका थिए।

उनीमाथि सर्वोच्च अदालतकी एक पूर्व कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप एप्रिल १९ तारिखमा लगाएकी थिइन्।

छानबिन समितिमा महिला

त्यसपछि अदालतको फुलकोर्टले प्रधानन्यायाधीशपछिका वरिष्ठ न्यायाधीश शरद अरविन्द बोबडेको संयोजकत्वमा तीन न्यायाधीश सम्मिलित छानबिन समिति बनाएको थियो।

शुरूमा समितिमा बोबडेपछिका वरिष्ठ न्यायाधीश एनभी रामना र महिला न्यायाधीश इन्दिरा बनर्जी सदस्य थिए।

तर ती महिलाले न्यायाधीश रामना प्रधानन्यायाधीशसँग निकट रहेको र पारिवारिक सदस्य जस्तै भएको आरोप लगाएपछि रामनाले समितिबाट आफूलाई अलग्याएका थिए।

त्यसपछि समितिमा अर्की महिला न्यायाधीश इन्दु मल्होत्रा सहभागी भइन्।

महिला र प्रधानन्यायाधीशको बयान

आरोप लगाउने महिलाले प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छन्, “मलाई जे कुराको डर थियो त्यही भयो। देशको सर्वोच्च न्यायालयबाट न्याय हुने मेरा आशाहरू चकनाचुर भएका छन्।”

समितिसमक्ष दुई पटक बयान दिएकी उनी छानबिनको निष्पक्षतामा प्रश्न उठाउँदै तेस्रो पटक भने बयान दिन गइनन्।

समितिमा आफूसँगै वकिललाई लग्ने अनुमति नदिइएको तथा वकिल र सहयोगी बिना न्यायाधीश सामू आफू हताश हुने उनको भनाइ थियो। त्यसपछि उनले समितिबाट न्याय पाउने आशा नभएको टिप्पणी गरेकी थिइन्।

तै पनि छानबिन चलिरह्‍यो। र, प्रधानन्यायाधीश गोगोईले समिति समक्ष उपस्थित भएर आफ्ना भनाइ राखेका थिए।

भारतका प्रधानन्यायाधीश गोगोईलाई यौन दुराचारको आरोप
भारतका प्रधानन्यायाधीश यौन दुर्व्यवहारको आरोपमा छानबिन समिति समक्ष उपस्थित भएको यो पहिलो पटक थियो।

प्रधानन्यायाधीशलाई सफाइ दिइएको प्रतिवेदनको एक प्रति उनलाई पनि दिइएको छ।

अदालत

तर त्यो सार्वजनिक नगरिने बताइएको छ।

सर्वोच्च अदालतकी वकिल इन्दिरा जयसिंले ‘सार्वजनिक हितको निम्ति’ प्रतिवेदन सार्वजनिक गर्न अदालतसँग माग गरेकी छन्।

आरोप के थिए?

महिलाले गोगोईले प्रधानन्यायाधीशको सपथ लिएको महिना अक्टोबरमा दुर्व्यवहारका दुईवटा घटना भएको आरोप लगाएकी थिइन्।

उनका अनुसार प्रधानन्यायाधीशले अक्टोबर १० र ११ तारिखमा उनीमाथि दुर्व्यवहार गरेका थिए।

उनले आफूले धकेलेर नपन्छाउँदासम्म प्रधानन्यायाधीशले कम्मर समाएर आफ्नो पूरै शरिर सुम्सुम्याएको आरोप न्यायाधीशहरूलाई पठाएको पत्रमा उल्लेख गरेकी थिइन्।

प्रधानन्यायाधीशको प्रस्ताव अस्वीकार गरेपछि आफ्नो परिवारलाई सताइएको बताउँदै ती महिलाले डिसेम्बरमा जागिरबाट निकालिनुअघि आफ्नो तीन पटक सरूवा गरिएको जनाएकी छन्।

जे भयो त्यो कुरा कसैलाई भनेमा परिवारले निकै हैरानी बेहोर्नु पर्ने चेतावनी प्रधानन्यायाधीशले आफूलाई दिएको पनि उनले उल्लेख गरेकी छन्।

प्रधानन्यायाधीशको अडान

प्रधानन्यायाधीशले आरोपहरू अस्वीकार गर्दै आएका छन्।

प्रधानन्यायाधीशको तर्फबाट सर्वोच्च अदालतका महासचिवले जारी गरेको विज्ञप्तिमा आरोप लगाउने व्यक्तिको कहिल्यै प्रधानन्यायाधीशसँग सोझै कुराकानी हुने परिस्थिति नै नभएको उल्लेख छ।

‘अनुचित व्यवहार’को एउटा घटनापछि प्रक्रियासंगत ढङ्गले उनी बर्खास्त भएको विज्ञप्तिमा जनाइएको छ।

पछि प्रधानन्यायाधीश गोगोईले आरोपहरूका पछाडि न्यायपालिकालाई अस्थिर बनाउने प्रयास गरिरहेका ठूला शक्तिहरू रहेको धारणा सर्वोच्च अदालतका न्यायाधीशहरू समक्ष राखेका थिए।

Share Now

Leave a comment.