काठमाडौं, २४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री ओलीको शासनकालमा भ्रष्टाचार मौलाउदै गएको तर सरकार भने दिउँसै सपना देख्ने मनोरोगले ग्रसित भएको गम्भीर आरोप लगाउनुभएको छ ।
कांग्रेसका प्रमुख सचेतक खाँणले हरेक भाषणमा सुशासनको सुँगा रटाई गर्ने प्रधानमन्त्री केपी ओलीको सरकारले बाईड बडी खरिदको भ्रष्टाचारमा संलग्न भएकाहरुलाई पूजा गरेर राखेको आरोप लगाउनु भयो । उहाँले एनसेल प्रकरण सरकारको हातबाट फुत्किैदै गएको पनि उल्लेख गर्नुभयो ।
उहाँले गत बर्षको नीति तथा कार्यक्रममा केरुड.-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गको कुरा उठेको तर यसबर्ष पोखरा- लुम्बिनी रेलमार्गको कतै उल्लेखै नभएकोमा उदेक मान्दै भन्नुभयो, ‘पोखरा लुम्बिनी रेलमार्ग कता हरायो ?
उहाँले गत बर्ष नै एकबर्षभित्र लुम्बिनी एअरपोर्ट सञ्चालन गर्ने प्रतिबद्धता गरेको सरकारले यो बर्षपनि एकबर्ष नै भनेको उल्लेख गर्दै समयको गणना कहाँबाट गर्ने हो भनेर प्रश्न गर्नुभयो ।
कांग्रेस मुख्य सचेतक खाँणले मेलम्चीमा भएको भ्रष्टाचार र विलम्बदेखि सरकारमा नरहेका नेकपाका नेताहरु पनि भ्रष्टाचारमा मुछिनुले देशमा शासनको अवस्था कस्तो छ भन्ने उदांगो भएको बताउनुभयो ।
जनताले भोगेको र देखेको यथार्थ एकातिर हुँदाहुँदै दिनदिनै समृद्ध नेपाल,सुखी नेपाली र विकासको मात्र नारा घोक्ने प्रधानमन्त्री ओली र उहाँको सरकारका मन्त्रीहरुलाई डाक्टरको खाँचो देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले सपना सुतेका बेला देख्दैन, उठेका बेला देख्छ, हिँडिरहेका बेला देख्छ। दिउँसो सपना देख्छ, दिउँसो सपना देख्यो भने के हुन्छ ? आज सपना देखियो, भोली सपना देखियो, दिनदिनै सपना देखियो भने डाक्टर खोज्नुपर्छ, यो सरकारलाई डाक्टरकहाँ लानुपर्ने भएको छ। दिउँसो सपना नदेख्नु। राति देख्नु। सरकारले राति सपना देखोस र जनतालाई पनि राति नै सपना देखाओस।’
नेता खाँण संविधानमै स्पष्ट नेपाल सरकार लेखिएको अवस्थामा ‘मेरो सरकार’ भनिनु आपत्तिजनक रहेको बताउदै भन्नुभयो ‘नेपालको संघीय कार्यकारिणीको काम नेपाल सरकारले गर्नेछ भनेर संविधानमा लेखिएको छ त्यसैले संविधानमा उभिएको राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु घोर आपत्तिजनक हो, कवि महाकवि र साहित्यकारहरुले भनेको भए कुरा अलग्गै हो । ’
‘देशमा सुशासन छैन, एनसेल भागिसक्यो, वाइडबडीका भ्रष्टाचारी कहाँ छन ? प्रधानमन्त्रीज्यू ?’ कांग्रेस सचेतक खाँणले भन्नुभयो ।


















