काठमाडौं, २३ बैशाख । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभणडारीले वर्तमान सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति र कार्यक्रम मुलुकलाई समृद्धितर्फ लैजाने नारा भएको तर कार्यक्रम नभएको गम्भीर आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममा बोल्दै उहाँले सरकारले समृद्धि र विकासको नारा जति भट्टयाए पनि त्यसलाई हासिल गर्ने आर्थिक कार्यक्रम समेटन नसकेको बताउनुभयो । उहाँले देशको विकास कि बैदेशिक लगानी पर्याप्त मात्रामा भित्र्याएर गर्न सकिने कि निर्यातलाई अत्यधिक बढाएर गर्न सकिने बताउदै भन्नुभयो ,’यी दुवै पक्षमा सरकारको नीति तथा कार्यक्रम अत्यन्त कमजोर छ ।’
सांसद राजभण्डारीले नेपालको कुटनीतिलाई आर्थिक कुटनीतिमा केन्द्रीत गर्ने सैद्धान्तिक रटान लामो समयदेखि दिइदै आएको भए पनि ब्यबहारमा वर्तमान सरकारले त्यसलाई अबलम्बन गर्न नसकेको स्पष्ट देखिएको बताउनुभयो ।
प्रधानमन्त्री,राष्टपति र मन्त्रीहरुको वैदेशिक भ्रमणमा आर्थिक मामिलाका विषय तल्लो प्राथमिकतामा पर्ने गरेको बताउदै सांसद राजभण्डारीले भन्नुभयो, हामीले विमस्टेकलाई नेपालको आर्थिक समृद्धिको लागि उपयोग गर्न सकिरहेका छैनो । सार्कको महत्वलाई परिचालन गर्न सकेनौ । प्रधानमन्त्री र राष्टपतिको भारत र चीनको भ्रमण बाहेक अन्य देश र निकायको भ्रमण फजुल खर्च जस्तो देखिएको छ ।
सांसद राजभण्डारीले २०६२/६३ सालको जनआन्दोलनको भावना अनुसार २०६५ सालमा संविधानसभाले मुलुकमा गणतन्त्र घोषणा गरेपछि पनि राजाले प्रयोग गर्दै आएको ‘मेरो सरकार’को प्रचलनलाई राष्टपतिबाट व्युताइनु जनआन्दोलनका शहिदको बलिदानको अपमान भएको बताउनुभयो । ब्रिटिस साम्राज्यमा र उसको उपनिवेशका देशमा रहेको ‘मेरो सरकार’ भन्ने परम्पराले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका जनताको सरकारलाई नै अपमानित गरेको बताउनु भयो ।
उहाँले नेपालको प्रतिनिधि भएर विदेशमा कार्यरत र राम्रोसंग काम गरिरहेका राजदूतलाई पनि विनाकारण फिर्ता बोलाईनु, राजदूत नियुक्तिको स्पष्ट मापदण्ड नअपनाईनु जस्ता सरकारको कमजोरी पनि केलाउनु भयो ।
सांसद राजभण्डारीले नेपालको आकाश उड्डयनका दृष्टिले अझै सुरक्षित बनाउन नसकिएको बताउदै सुरक्षा मापदण्ड नपुगेर युरोपेली युनियनले कालोसूचीमा राखेको बर्षौ बित्दा पनि त्यसबाट हटाउन सार्थक पहल हुनुनसक्नु दुःखको कुरा भएको बताउनुभयो ।
सांसद राजभण्डारीले संसदले बनाएको र संसदप्रति उत्तरदायी रहनुपर्ने सरकारले संसद भवन बनाउने, सांसद आवास बनाउने जस्ता विषयलाई समेट्न नसकेकोमा पनि नीति तथा कार्यक्रमको आलोचना गर्दै त्यसमा पूर्ण लोकतन्त्र भन्ने शब्द राखिएकोले हामीलाई कता कता पुरानो कुरा संझन बाध्य बनाएको बताउनु भयो ।
उहाँले नीति तथा कार्यक्रममा धेरै कमी कमजोरी भएकोले यसलाई नेपाली कांग्रेसले राखेको संशोधन समेटेर पारित गर्न आग्रह गर्नुभयो ।


















