Prakash Adhikari May 7, 2019

काठमाडौं, २४ बैशाख । सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता लिएका नेपाली नागरिकका सन्ततिलाई वंशजको नागरिकता दिने कार्यमा रोक लगाएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र शुष्मलता माथेमाको संयुक्त इजलासले जन्मका आधारमा नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता नबाँड्न अन्तरिम आदेश दिएको छ। इजलासले गम्भीर विषय रहेको कारण देखाउँदै विवादलाई पूर्ण इजलासमा पठाएको छ।

सर्वोच्चको मंगलबारको आदेशपछि गृह मन्त्रालयद्वारा मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई गरेको पत्राचार कार्यान्वयन प्रक्रिया सबै रोकिएको छ।

यसअघि सर्वोच्चकै न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले वैशाख ३ गते जन्मसिद्ध नेपाली नागरिकता लिएका नेपालीको सन्ततिलाई वंशजको आधारमा नागरिकता दिने गृहमन्त्रालयको सर्कुलरलाई रोक्न नपर्ने आदेश दिएको थियो।

उक्त आदेशलाई मंगलबारको आदेशले निष्प्रभावी बनाइदिएको छ।

न्यायाधीश कार्की र श्रेष्ठको इजलासबाट नागरिकता बाँड्न बाटो खुला भएपछि पुनः रोक्न माग राखेर वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, साध्यबहादुर भण्डारी, डम्बर श्रेष्ठ र हिमलाल पुरीले सर्वोच्चमा रिट दायर गरेक थिए ।

सरकारले २०५४ सालमा जितेन्द्रनारायण देवको अध्यक्षतामा गठित समितिको सिफारिसमा बाँडेको नागरिकता रोक्न २०५८ सालमै परमादेश दिएको अवस्थामा न्यायाधीश कार्की र श्रेष्ठको संयुक्त इजलासको आदेशको आधारमा देशभर बांडिएको नागरिकता गैरकानुनी ठहर हुनुपर्ने माग सहित अन्तरिम आदेशबाट सो कार्य रोक्न माग गर्दै उनीहरुले रीट दिएका थिए ।

रिटमा पुनः प्रधानन्यायाधीश राणा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले प्रमुख जिल्ला अधिकारी मातहत नरहेका अन्य अधिकारीबाट वितरण गरिएका नागरिकता सर्वोच्चबाट २०५८ सालमै अमान्य गरिसकेको अवस्थामा सोही नागरिकता नम्बरबाट निजका सन्तानले नागरिकता लिने कार्य कानुनविपरीत हुने भन्दै अन्तरिम आदेश दिएको थियो।

नागरिकता वितरणका सम्बन्धमा सर्वोच्च अदालतका संयुक्त इजलाशबाट भएका आदेशहरु परस्पर बाझिएको कारण देखाउदै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले यस विषयमा पूर्ण इजलासबाट सुनुवाइ गरिपाउन र अन्तिम आदेश वा निर्णय वा फैसला नआइञ्जेलसम्म अन्तरिम आदेशबाट जन्मसिद्धका सन्ततिलाई वंशजको नागरिकता वितरण गर्ने गृहको कार्य रोक्न माग गर्दै पूरक रीट निवेदन दिनुभएको थियो ।

न्यायाधीश द्धय खतिवडा र माथेमाको यो जन्मसिद्ध नागरिकता प्राप्त नेपालीका सन्तानलाई वंशजका आधारमा नागरिकता बाँड्न गृहबाट भएको सर्कुलर अनुसारका सबै प्रक्रिया रोकिएको छ।

गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रसासन कार्यालयमा जन्मसिद्धका सन्ततिलाई वंशजका आधारमा नागरिकता दिन परिपत्र जारी थियो।

Share Now

Leave a comment.