नोन पेन्ह (कम्बोडिया), ३० वैशाख। प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनको औपचारिक भ्रमणका लागि आज कम्बोडिया अधिराज्य आइपुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई नोन पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका वातावरण तथा सवारीमन्त्री से अल र वैदेशिक मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका सेक्रेटरी अफ स्टेट इट सोफियाले स्वागत गर्नुभएको थियो ।
कम्बोडियाका प्रधानमन्त्री साम वेद्क आक्का मोह सेना पाडेयी टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यहाँको भ्रमणमा आउनुभएको हो ।
प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहाकार डा राजन भट्टराई, सांसद, उच्चपदस्थ सरकारी अधिकारी, निजी क्षेत्रका व्यवसायी, सञ्चारकर्मीलगायत हुुनुहुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुभएको हो ।
भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही वैशाख २६ गते भियतनाम आउनुभएको थियो ।
भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भियतनाम नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गर्नुभएको थियो । (रासस)