Prakash Adhikari May 13, 2019

काडमाडौं, ३० बैशाख । नेपाली कांग्रेसका सांसद गगन थापाले विद्धान अर्थमन्त्री युवराज खतिवडाले ल्याएको चालु आर्थिक बर्षको बजेटले मुलुकमा राम्रो काम गर्न नसकेको बताउदै ‘आगामी आर्थिक बर्षको बजेट घस्रने ल्याउनु हुन्छ कि उफ्रने ल्याउनु हुन्छ हेर्न बाँकी छ’ भनेर ठट्टामा उडाईदिनु भएको छ ।

उहाँले अर्थमन्त्री डा. खतिवडालाई चुनौति दिंदै भन्नुभयो, ‘गत वर्षको बजेटलाई लिएर सुखद वर्ष रह्यो भन्ने एक जना मान्छे भेटाइदिनु त ।’

संसदमा अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको २०७६ । ७७ सालको बजेटको सिद्धान्त र कार्यक्रममाथि टिप्पणी गर्दै थापाले सरकारले दुई तिहाईको प्रचण्ड बहुमत आफूसंग रहेको र संसदीय व्यवस्थाको मर्म र धर्म अनुसार चल्ने संयमित प्रतिपक्ष पाउदा पनि काम गर्न नसकेको आरोप लगाउनु भयो।

‘नेपालमा कम्युनिस्ट पार्टीको पाँच वर्षसम्म हलचल नहुने पूर्ण बहुमतको सरकार छ। यस्तो अनुकूलकता भएको सरकार यस्तो विद्वान अर्थमन्त्री हुनुहुन्छ, भ्यागुता जस्तो उफ्रने आर्थिक वृद्धिको अपेक्षा हुनु स्वभाविक हो’, थापाले भन्नुभयो, ‘गएको एक वर्षमा के भयो।

मन्त्रीको दाबी छ ‘गज्जबै गज्जब भयो। संविधान कार्यान्वयन उत्कृष्ट रह्यो। रोजगारी वृद्धि भयो। बजेटमा अनुशासन कायम भयो। सुशासन र विकास भयो। राम्रैराम्रो भयो। हरेक दिन एक कदम चालेकाले जनतामा खुसीयाली छायो। तर म चुनौतीका साथ भन्न चाहान्छु – एकपटक नेपाल घुमौं। प्रदेश सरकारदेखि स्थानीय सरकारसम्म, विद्यार्थी, शिक्षक, मजदूर, उद्यमी, व्यवसायी नयाँ पुरानो कसैलाई पनि भेटौं र सोधौं। यो मेरा लागि सुखद वर्ष रह्यो भन्ने एक जना मान्छे तपाईंले मलाई भेटाइदिनुहोस्।’

उहाँले अर्र्थमन्त्रीलाई मैले गर्न खोजे सकिनँ र सुधार गर्छु भन्ने ठाउँबाट सुधार गर्नु भएको भए ठीक ढंगले जाने थियो होला भन्ने सुझाव दिंदै थप्नुभयो, ‘दुई अंकको आर्थिक वृद्धि होइन संरचनात्मक परिवर्तन गर्ने, विप्रेषणमा आधारित होइन लागतमा आधारित वृद्धि गर्नुपर्छ।’

कांग्रेस सांसद गगनले नेपालमा दक्षिण एसियामा सबभन्दा कम वैदेशिक लगानी आएको बताउनुभयो ।

उहाँले राजस्व परिचालनमा नविनता ल्याउनुपर्ने, ग्लोबल भ्यालु चेन र रिजनल भ्यालु चेनमा जोडिने तथा सामान्य र मध्यम स्तरका उद्योगबारे सरकार स्पष्ट हुनुपर्ने बताउनुभयो।

प्रतिनिधि सभाको बैठकमा थापाले समृद्धिको परिकल्पना हावादारी भएकै कारण नीति तथा कार्यक्रम बरालिएको र त्यसमै आधारित भएर बजेटको सिद्धान्त र कार्यक्रम आएकोले झन् अमलिएको बताउनु भयो ।

Share Now

Leave a comment.