Prakash Adhikari May 18, 2019

काठमाडौंm ४ जेठ । २५६३ औं बुद्धजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री के.पी.शर्मा ओली र विपक्षी दलका नेता शेरबहादुर देउवाले विश्व शान्ति र समृद्धिकालागि शुभकामना दिनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीको पावन अवसरमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी सम्पूर्ण समुदायहरूमा हार्दिक शुभकामना व्यक्त गर्दैै शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्‍भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सवल बनाउन सकिने विश्वास प्रकट गर्नुभएको छ ।

उहाँले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि मुलुकमा दीगो शान्ति र सुदृढ राष्ट्रिय एकता एक प्रमुख शर्त भएको उल्लेख गर्दै बुद्ध जयन्तीको यस महत्वपूर्ण अवसरमा समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प साकार पार्न आ(आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न सबै शान्तिप्रेमी दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक आव्हान गर्नुभएको छ
उहाँले पवित्रभूमि नेपालको लुम्बिनीमा जन्मेका राष्ट्रगौरव एवम् शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको आजको पवित्र दिनमा हामी सबैमा एक आपसमा सहिष्णुता, सद्‍भाव, अहिंसा एवम् विश्व शान्तिको महान अभियानमा लाग्ने प्रेरणा मिलोस् शुभकामना दिनुभएको छ ।

गौतम बुद्ध गौरवका सत्पात्र : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताउनुभएको छ ।

२५६३ औं बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

सन्देशमा प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याणको निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गर्नुभएको छ । “संसारमा दुःख छ र दुःख हटाउने सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धले मैत्री, करुणा र अहिंसाको शिक्षा दिए ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “ जातीय भेदभाव र छुवाछुत प्रथाको विरोध गरे । समनताको सिद्धान्तको प्रतिपादन गरे । त्यसैले गौतम बुद्धको शिक्षा, सिद्धान्त र दर्शनलाई सर्वत्र अनुशरण र प्रशंसा गरिन्छ ।”

प्रधानमन्त्री ओलीले बुद्धका विचारहरू जीवन दर्शन र मानव कल्याणसँग सम्बन्धित भएकोले नै विश्वभर प्रसिद्ध र लोकप्रिय बन्न सकेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघले समेत गौतम बुद्धबाट प्रतिपादित ज्ञानलाई मुख्य सिद्धान्तको रुपमा अवलम्बन गरी संसारलाई त्यसै अनुरूप शान्तिको बाटोमा डोहो¥याउन खोजेको छ उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्बिनीलाई विशेष धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास गर्न सरकार सधैं सकारात्मक रहेको सन्देशमा उल्लेख गर्नुभएको छ । बुद्ध जयन्तीको महत्वपूर्ण दिनमा सबैलाई बुद्ध प्रदत्त ज्ञानलाई शिरोधार्य गरी विश्व शान्ति र भाइचाराको बाटोमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

अन्याय अत्याचार र सबैखाले दमनबाट मुक्ति मिलोस् : नेका सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २५६३ औं बुद्ध जयन्तीको अवसरमा एक शुभकामना सन्देश दिंदै बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गनुभएको छ ।

कांग्रेस सभापतिले दिनुभएको शुभकामना सन्देशमा भनिएको छ, नेपाली जनताको लामो त्याग र वलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधि मार्फत निर्माण भएको नेपालको संविधान बमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको ऐतिहासिक महत्वका निर्वाचनहरु सम्पन्न भई संविधानको सफल कार्यान्वयन भैसकेको छ र संक्रमणकालिन राजनीतिबाट मुलुकले निकास पाएको छ । यो ऐतिहासिक उपलब्धी पछि नेपाली जनताको अबको महत्वपूर्ण चाहना भनेको शान्ति र आर्थिक विकास नै हो ।

दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको बताउदै कांग्रेस सभापति देउवाले नेपाली कांग्रेसको पहिलो प्राथमिकता नै शान्ति भएको दोहोर्याउनु भएको छ ।

उहाँलेविगतका वर्षहरु अशान्ति र द्वन्दबाट आक्रान्त रहेको हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन नसकेको बताउदै शान्त र समुन्नत नेपाल निर्माणका लागि सामु थुप्रै अवसरहरु रहेको उल्लेख गनुभएको छ ।

उहाँले हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्छ भन्ने सुझाव दिनुभएको छ ।

शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गर्न आह्वान गर्दै उहाँले अशान्ति, हत्या र हिंसाको विरोध गर्न अपील गर्नुभएको छ ।

Share Now

Leave a comment.