काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले क्रियाशील सदस्यदेखि महाधिवेशन प्रतिनिधिसम्मलाई प्रशिक्षण दिने भएको छ ।
नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा शुक्रबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर ललितपुरमा बसेको बैठकले सो निर्णय गरेको हो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहालले दिनुभएको जानकारी अनुसार बैठकले पाँचवटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।
प्रतिष्ठानले ७ वटै प्रदेशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने, नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुका लागि १ दिने आधारभूत प्रशिक्षण कार्यक्रम संचालन गर्ने, नेपाली कांग्रेसले केन्द्रीय स्तर (काठमाडौं) मा र देशका अन्य भागमा पनि क्रमशः ‘नेपाली कांग्रेस मेला’ कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले जेठ १५ गते गणतन्त्र दिवसको सन्दर्भमा काठमाडौँंमा जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम, १५ गते विहान प्रभातफेरी र बेलुका दीप प्रज्वलन तथा १६ गते संघीयताको कार्यान्वयन विषयमा विचार गोष्ठी आयोजना गर्ने र जिल्लाहरुमा पार्टीको राष्ट्रिय जागरणको कार्यक्रमसँगै समन्वय हुने गरी कार्यक्रम संचालन गर्ने र जिल्लामा हुने गणतन्त्र दिवसको कार्यक्रमलाई सहजीकरण गर्न केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबाट प्रतिनिधिहरु पठाउनेसम्बन्धी प्रस्ताव पारित गरेको छ ।


















