Prakash Adhikari May 23, 2019

वाशिड.टन डीसी(संयुक्त राज्य अमेरिका),९ जेठ(बीबीसी) । अघिल्लो राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको सम्बन्धमा भएका अनुसन्धानमा व्यवधान पुग्नेगरी ढाकछोप गरेको आरोप लागेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प विपक्षीसँगको बैठक छाडेर हिँडिदिएका छन्।

पूर्वाधारसम्बन्धी विषयमा डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेताहरूसँगको बैठक सुरु भएको पाँच मिनेटमै उनी बाहिरिएका थिए।

यो घटनापछि ट्रम्प र विपक्षीबीच विद्यमान तनाव झन् बढेको छ।

क्रुद्ध ट्रम्प

आफूमाथि अनुसन्धान नरोकेसम्म मिलेर काम गर्न नसक्ने भन्दै विपक्षी डेमोक्र्याटहरूसँगको बैठकबाट राष्ट्रपति डोनल्ड ट्रम्प अचानक उठेर हिँडिदिएका हुन्।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनताका भएको भनिएको रुसी हस्तक्षेपमा उनको भूमिकाबारे ट्रम्पले ढाकछोप गरेको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले आरोप लगाएपछि रिसाएर उनी हिँडेका थिए।

पेलोसी
पूर्वाधार विकासबारे कुरा गर्न सिनेटका डेमोक्र्याटिक नेता चक शुमर अनि पेलोसीसँग निर्धारित बैठकबाट उनी पाँच मिनेटमै बाहिरिए।

बाहिर निस्केर उनले डेमोक्र्याटिक नेताहरूले कानुन पनि बनाउने र आफूमाथि अनुसन्धानपनि जारी राख्ने दोहोरो कार्य गर्न नसक्ने टिप्पणी गरेका थिए।

उनले आफूविरुद्ध “नक्कली अनुसन्धान” बन्द गरिनुपर्ने बताए।

सीबीएस न्यूजका अनुसार पेलोसी तथा शुमरका साथ बैठककक्षमा प्रवेश गरेका राष्ट्रपति ट्रम्पले दुवैसँग हात मिलाएनन्।

उक्त बैठकबारे जानकार तर नाम नखुलाइएका एक सूत्रले बैठकमा सभामुख पेलोसीले ढाकछोपबारे लगाएका जघन्य आरोपबारे ट्रम्पले उनलाई गाली गरेका थिए।

ट्रम्पले विपक्षीहरूलाई अनुसन्धान रोक्न नत्र अन्य कुनै पनि विषयमा छलफल नगर्ने बताए र अचानक बैठक छाडेर हिँडे।

न्यान्सी पेलोसीले राष्ट्रपतिले रुसी हस्तक्षेपबारेका अनुसन्धानमा व्यवधान गरेर न्याय सम्पादन रोकिरहेको बताएकी छन्।

Share Now

Leave a comment.