काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको चुनावमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई छुट्टाछुट्टै पत्र पठाई नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिनु भएको छ ।
हालै भएको ७ चरणको निर्वाचनपश्चात बिहिबार भएको मतगणनामा भारतीय जनता पार्टीको नेतृत्वमा रहेको नेशनल डेमोक्रेटिक एलाएन्सले प्रचण्ड बहुमत ल्याउनुका साथै प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टीले सरकार गठन गर्न पुग्ने बहुमत प्राप्त गरेको छ ।
कांग्रेस सभापति देउवाले आफ्नो बधाई सन्देशका नेपाल र भारतबीच सदियौँ देखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जानुका साथै दुबै पार्टी बीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुने विश्वास समेत व्यक्त गर्नुभएको छ ।


















