सानेपा(ललितपुर),३० जेठ । नेपाली कांग्रेसले जागरण अभियानको दोस्रो चरण प्रवेश पूर्व नै नेपालको संविधान र नेपाली कांग्रेसको संशोधित विधान बमोजिमको सम्पूर्ण संरचनाहरु निर्माण गरिने बनाएको छ ।
बिहिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले सो कुरा बताउनुभएको हो ।
कांग्रेसले दोस्रो चरणको “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” भदौ २४ गते वीपी जयन्तीका दिन प्रारम्भ भई असोज ७ गतेसम्म चल्ने पूर्व घोषणा गरिसकेको छ ।
कांग्रेसले दोस्रो चरणको जागरण अभियानको थालनी पूर्व केही महत्वपूर्ण सांगठनिक अभिभारा सम्पादन गरिने जनाएको छ । जसमा प्रथम चरणका लागि जिल्लाहरुमा जिम्मेवारी लिएर खटिनु भएका केन्द्रीय प्रतिनिधिहरुले असार १४ गतेभित्र आफ्नो लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने र त्यसउपर पार्टी नेतृत्व र केन्द्रीय प्रतिनिधिहरुबीच छलफल कार्यक्रम आयोजना हुनेछ । जागरण अभियानको प्रथम चरणको समिक्षा, अन्य आवश्यक सन्दर्भ र समसामयिक मुद्दा केन्द्रीत रहेर नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक असार तेस्रो सातामा बस्नेछ । नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संस्थाहरु बारे आवश्यक निर्णय यथाशीघ्र लिइनेछ ।
कांग्रेसले वर्तमान सरकारको अधिनायकवाद उन्मुख गतिविधिहरु जनतासमक्ष पुर्याउन जागरण अभियान सफल भएको पनि बताएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले फेरी पनि नेपाली कांग्रेसले आफूलाई नविन ढंगले अघि बढाएर संविधान, संघीयता र सिंगो लोकतन्त्रको रक्षा एवं सम्वद्र्धनको भूमिका निर्वाह गर्नु पर्ने आम अपेक्षा देखिएको बताउदै त्यस्तो आशा र विश्वासको भावनाकासाथ नेपाली कांग्रेसमा समाहित हुन चाहने आकांक्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको बताउनुभयो । उहाँले अभियान क्रममा सत्तारुढ पार्टी एवं अन्य पार्टीहरुबाट ३१ हजार ६ सय ४२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नु हुनेमा साधारण सदस्यतादेखि जिल्ला र गाउँ नगरमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहनु भएका व्यक्तित्वहरु समेत हुनुहुन्छ । उहाँहरुलाई पार्टीले आवश्यक प्रशिक्षण पश्चात उपयुक्त जिम्मेवारी प्रदान गर्ने बताइएको छ ।
विज्ञप्तिमा कांग्रेसले भनेको छः
महिना दिन दुई हजार बढी कार्यक्रम
१. जागरण अभियानको प्रथम चरणको प्रारम्भ राष्ट्रव्यापी रुपमा एक साथ भएको थियो । एक महिनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगर स्तरीय कार्यक्रमहरु सँगै अन्य विषयगत महत्वपूर्ण भेला र कार्यक्रमहरु तथा कतिपय ठाउँमा वडा स्तरीय कार्यक्रम समेत गरी समग्रमा २ हजार भन्दा बढी कार्यक्रम आयोजना गरिएका छन् ।
२. अभियान क्रममा बैठक, भेला, आन्तरिक सभाहरु, खुला सभा, ¥याली, विचार–वहस लगायत कार्यक्रम सम्पन्न भएका छन् । कार्यक्रमहरुमा पार्टीका विभिन्न तहका साथीहरु, शुभचिन्तक, वुद्धिजीवी, व्यवसायी र कार्यक्रमको स्वरुप बमोजिम विविध र व्यापक सहभागिता रह्यो । सामाजिक बनोट बमोजिम विभिन्न समुदाय, भाषा–भाषी, युवा–पाकाको व्यापक सहभागिता रह्यो । देशव्यापी अभियानसँगै विदेश स्थित जनसम्पर्क समितिहरु मार्फत पनि अभियानका उद्देश्यहरु एक हदसम्म सम्प्रेषण भएका छन् ।
३. अभियानलाई व्यवस्थित बनाउन ७७ जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि, जिल्ला, क्षेत्र र गाउँ नगरले आवश्यकता अनुसार खटाएका प्रतिनिधि समेत गरी सयौँ प्रतिनिधिहरु विभिन्न तहसम्म पुगेर भूमिका निर्वाह गर्नु भएको छ । सबै प्रतिनिधि साथीहरु बधाइको पात्र हुनुहुन्छ । केन्द्रबाट निर्धारित अभियानलाई आ–आफ्नो जिल्ला र विभिन्न तहमा नेतृत्व गर्नु हुने सबै साथीहरु बधाइको पात्र हुनुहुन्छ ।
प्रथम चरणको सन्देश
४. राष्ट्रिय जागरण अभियानलाई पछिल्लो समय कुनैपनि राजनैतिक दलद्वारा प्याकेजमा अघि सारिएको वृहत र नविन कार्यक्रमका रुपमा आम रुपमा लिइएको अनुभूत गरिएको छ ।
(क) पन्ध्र उद्देश्य तर एक साझा अभियान ।
(ख) कार्यक्रमका स्वरुपहरुको छरितो प्रस्तावना ।
(ग) ‘हिमाल, पहाड, तराई—मधेश’ नामसँगैको भावनात्मक ऐक्यवद्धता र सुगम शहरदेखि दुर्गम गाउँसम्म कार्यक्रम ।
(घ) स्थानीय तहसम्म वृहतस्तरमा संवाद, विषय सम्प्रेषण र सुझाव संकलन ।
(ङ) गणतन्त्र, संघीयता, सुशासन र समृद्धि जस्ता आम सरोकारका विषयहरुमा वौद्धिक छलफल ।
(च) लामो समय पश्चात नविन कार्यक्रम ।
कांग्रेसप्रति आकर्षण सरकारप्रति विकर्षण
वर्तमान सरकारको अधिनायकवाद उन्मुख गतिविधिहरुले सरकारप्रति तीव्र बढाएको असन्तुष्टी जागरण अभियानका क्रममा देशव्यापी रुपमा प्रकट भएको छ । फेरी पनि नेपाली कांग्रेसले आफूलाई नविन ढंगले अघि बढाएर संविधान, संघीयता र सिंगो लोकतन्त्रको रक्षा एवं सम्वद्र्धनको भूमिका निर्वाह गर्नु पर्ने आम अपेक्षा देखिएको छ । सोही आशा र विश्वासको भावनाका साथ नेपाली कांग्रेसमा समाहित हुन चाहने आकांक्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको छ । अभियान क्रममा सत्तारुढ पार्टी एवं अन्य पार्टीहरुबाट नेपाली कांग्रेसमा देशभरिका कार्यक्रम मार्फत ३१६४२ ले प्रवेश गरेका छन् । प्रवेश गर्नु हुनेमा साधारण सदस्यता देखि जिल्ला र गाउँ नगरमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहनु भएका व्यक्तित्वहरु समेत हुनुहुन्छ । उहाँहरुलाई पार्टीले आवश्यक प्रशिक्षण पश्चात उपयुक्त जिम्मेवारी प्रदान गर्नेछ ।
कमजोरी पहिचान र आम सुझाव
५. जागरण अभियानका क्रममा पार्टीलाई घरेलु जीवन र राष्ट्रिय राजनीतिको भूमिकाका सन्दर्भमा महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् । नेपाली कांग्रेसलाई सुदृढ र नविन बढाउँदै अघि बढ्न जागरण अभियान क्रममा साथीहरुबाट औल्याइएका कमजोरीहरु आत्मसात गर्दै, तिनलाई क्रमशः निराकरण गर्दै नेपाली कांग्रेस अघि बढ्नेछ ।
मेरो रगत कसैको जीवन
यही उद्घोष साथ जागरण अभियानसँगै जिल्ला सम्पर्क समितिहरुको संयोजनमा काठमाडौँमा मासिक रुपमा नियमित रक्तदान कार्यक्रम प्रारम्भ भएको छ । जेठ २३ मा प्रथम रक्तदानमा ७३ पिण्ट रक्तदानसँगै ‘काठमाडौँका अस्पतालहरुमा रगतको अभाव हुन नदिने’ घोषणा गरिएको छ । असारको अन्तिम शनिबार दोस्रो रक्तदान आयोजित हुनेछ ।
दोस्रो चरणमा प्रवेश पूर्व
६. “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को दोस्रो चरण पूर्व घोषणा अनुरुप भदौ २४ गते (विपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्नेछ ।
दोस्रो चरण प्रवेश पूर्व केही महत्वपूर्ण सांगठनिक अभिभारा सम्पादन गरिनेछ । त्यस क्रममा …
(क) प्रथम चरणका लागि जिल्लाहरुमा जिम्मेवारी लिएर खटिनु भएका केन्द्रीय प्रतिनिधिहरुले असार १४ गते भित्र आफ्नो लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनु हुनेछ ।
(ख) पार्टी नेतृत्व र केन्द्रीय प्रतिनिधिहरु बीच यसक्रममा विशेष विर्मश केन्द्रीय कार्यालयले आयोजना गर्नेछ ।
(ग) जागरण अभियानको प्रथम चरणको समिक्षा, अन्य आवश्यक सन्दर्भ र समसामयिक मुद्दा केन्द्रीत रहेर नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक असार तेस्रो सातामा बस्नेछ ।
(घ) जागरण अभियानको दोस्रो चरण प्रवेश पूर्व नै नेपालको संविधान र नेपाली कांग्रेसको संशोधित विधान बमोजिमको सम्पूर्ण संरचनाहरु निर्माण गरिनेछ ।
(ङ) नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संस्थाहरु बारे आवश्यक निर्णय यथाशीघ्र लिइनेछ ।
प्रतिष्ठान अन्तर्गत प्रशिक्षण
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्वमा विभिन्न तहमा प्रशिक्षणका कार्यक्रमहरु जागरण अभियानको दोस्रो चरण पूर्व आयोजित हुनेछन् । यस क्रममा—
(क) नेपाली कांग्रेसको उम्मेदवार भएर विजयी देशभरिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुका लागि ‘सेवा, संगठन र समृद्धि’ केन्द्रीत प्रशिक्षण साउन महिनाको प्रथम साता काठमाडौँमा आयोजना गरिनेछ ।
(ख) सात प्रदेशका जिल्लाहरुलाई १४ फरक समूह बनाई १४ स्थानमा प्रशिक्षण आयोजना गर्ने प्रतिष्ठानको पूर्व निर्णय बमोजिम साउन प्रथम साता नै प्रदेश १ को धनकुटा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण आयोजना गरिनेछन् ।
(ग) नेपाली जनसम्पर्क समितिहरुका लागि जुन २१—२३ मा डेनमार्कमा आयोजना गरिने प्रशिक्षणमा ३३ देशका नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहनेछ । आन्तरिक संगठनात्मक विषयवस्तुहरुमाथि प्रशिक्षणका अलावा विश्व स्तरीय सो कार्यक्रममा…
- नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिका
- विश्वमा बढ्दो तापक्रम र नेपाल प्रभाव
- विश्वको बदलिदो राजनीति, दक्षिण एशिया र नेपाल
- समाजवादको युरोप अनुभवको आलोकमा नेपाल
जस्ता महत्वपूर्ण विषयहरुमा विषगत अन्तरक्रिया हुनेछ ।
हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणले अभिवृद्धि गरेको जागरणको जगमा नेपाली कांग्रेस आगामी दिनमा सांगठनिक सुदृढीकरण र राष्ट्रिय राजनीतिको भूमिकामा थप सवल ढंगले अघि बढ्नेछ ।